एपीएफलाई ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि

२८ चैत २०७७ काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी क्रिकेटको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।
आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । १ सय ७ रनको लक्ष्य एपीएफले १६ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै पुरा गरेको थियो ।
एपीएफकी ज्योती पाण्डे र सिता रानामगरले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरे । ज्योतीले ३६ र सीताले २७ रन बनाइन । यस्तै इन्दु बर्माले १९ र ममता चौधरीले अविजित १५ रनको योगदान गरिन ।
यसअघि सुदूपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन जोडेको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ४४ रन जोडिन् । त्यस्तै, कविता कुँवर र डोली भट्टले १४र१४ रन बनाए ।
अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रतियोगिताको विजेता एपीएफले ३ लाख नगद पुरस्कार प्राप्त गर्यो । यस्तै उपविजेता सुदूपश्चिमले १ लाख ५० हजार पायो ।
प्रतिक्रिया