बाघको आक्रमणबाट कर्मचारीको मृत्युपछि गैंडा गणना स्थगित
२३ चैत २०७७ बर्दिया । बाघको आक्रमणबाट कर्मचारीकै मृत्यु भएपछि बर्दिया राष्ट्रिय निकुञ्जमा जारी गैँडा गणना आजका लागि स्थगित गरिएको छ ।
आइतबार बेलुका गैँडा गणनामा खटिएका माउतेलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट माउतेको मृत्यु भएपछि आज एक दिनका लागि गैँडा गणना रोकिएको छ ।
सुरक्षात्मक प्रबन्ध मिलाएर भोलिदेखि पुनः गणना सुरु हुने प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
चैत ९ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु भएको राष्ट्रिय गैँडा गणना अन्तर्गत बर्दियामा गत बुधबारदेखि गणना सुरु भएको हो। प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार बर्दियामा गैँडा गणनाका लागि अझै एक हप्ता लाग्ने छ ।
बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ गैँडामचान क्षेत्रमा गैँणा गणनाका लागि खटिएका हात्तीका माउते ३५ वर्षका पुलिसराम थारुको हिजो बेलुका मृत्यु भएको थियो ।
घटना लगत्तै आक्रमण गर्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया