तुवाँलो र प्रदूषणको असरले काठमाडौंमा चिसो बढ्यो
१६ चैत २०७७ काठमाडौं । तुवाँलो र प्रदूषणको असर तापक्रममा पनि देखिएको छ । जसको असर स्वरुप काठमाडौं उपत्यकामा केही चिसो भएको छ ।
लगातारजसो घाम नलाग्दा र धुलो, धुवाँ बढ्दै जाँदा काठमाडौंमा बिहान र बेलुका चिसो महशुस हुन थालेको छ ।
प्रि–मनसुन शुरु भएपछि बिस्तारै गर्मी बढ्दै गए पनि तुवाँलोका कारण फेरि न्यूनतम तापक्रम घटेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । काठमाडौंको न्यूनतम तापक्रम गएको फागुन २९ गते १३ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको थियो ।
तर त्यसयता प्रदूषण बढ्दै गएसँगै न्यूनतम तापक्रम घट्न थालेको मौसमविद् मानन्धरले बताउनुभो । काठमाडौंको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजोको न्यूनतम ११ दशमलव ४ डिग्री सेल्सियस थियो । हरेक दिनजसो मौसमको अवस्था एउटै रहेकाले तापक्रम घटेको उहाँले बताउनुभयो ।
भोलि बेलुकादेखि भने पश्चिमी वायुको मध्यम प्रभाव पर्ने सम्भावना रहेकाले मौसम केही खुल्न सक्ने अनुमान गरिएको छ । यसपालि प्रि(मनसुनमा पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
भोलि साँझ भने पश्चिमी वायुको प्रभावका कारण केही पहाडी क्षेत्रमा भने हल्का पानी पर्ने अनुमान छ ।
प्रतिक्रिया