आज तराईका जिल्लाहरुमा धुमधामका साथ होली पर्व मनाइँदै

१६ चैत २०७७ काठमाडौं । आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व धुमधामका साथ मनाइँदैछ ।
रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ ।
दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विचलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भष्म भएको तर भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख छ ।
यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।
होलीमा प्रयोग गरिने रङहरूको आआफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।
फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । आज तराई क्षेत्रमा सार्वजनिक विदा दिइएको छ। यो वर्ष कोरोना जोखिम बढेकाले सतर्कता पुर्वक होली खेल्न सरकारले आग्रह गरेको छ ।
प्रतिक्रिया