समाज

शुरु भयो विराट राजाको प्राचीन राजदरबार भौगर्भिक सर्भे, यस्तो छ मास्टर प्लान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १६ गते ६:४६
शुरु भयो विराट राजाको प्राचीन राजदरबार भौगर्भिक सर्भे, यस्तो छ मास्टर प्लान (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित विराट राजाको प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकालीन भएको मानिन्छ ।

धार्मिक ग्रन्थमा समेत यस क्षेत्रको वर्णन गरिएको विराट राजाको दरबारलाई संरक्षण, सम्वर्द्धनका साथै यसको आधुनिकतासँग जोड्न बृहत् गुरुयोजनासहित त्यसको ऐतिहासिकता र वास्तविकता पत्ता लगाउन भौगर्भिक सर्भेको काम शुरु गरिएको छ ।

पुरातत्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयको प्राविधिक अध्ययन टोलीले विराटनगर महानगरपालिका वडा नम्बर १८ मा रहेको विराट राजाको दरबारको ऐतिहासिक तथ्य र वास्तविकता पत्ता लगाउन भौगर्भिक सर्वे गरेको छ ।

विराटनगर महानगरपालिको आर्थिक सहयोगमा अध्ययन टोलीले भेडियारीमा रहेको क्षेत्रलाई संरक्षण, सम्वर्द्धनका साथै यसको आधुनिकतासँग जोड्न बृहत् गुरुयोजना बनाउने योजना सहित काम थालेको हो ।

विराट राजाको दरबार रहेको र पाण्डवहरु वनबासपछि १ बर्षसम्म यो दरबारमा गुप्त बास बसेको विश्वास छ। त्यसबेलाको ३०(४० कोठाको दरबार र मन्दिर अझै पनि जमिनमुनि रहेको प्राचीन कथन छ । प्रचलित किवदन्ती अनुसार विराट राजाको दरबार रहेको यो क्षेत्रमा पाण्डवको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी अर्थात् गुप्तचर पठाएका थिए ।

यसकै आधारमा यस क्षेत्रको नाम भेडियारी रहन गएको मानिन्छ । प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकाल देखि नै रहिआएको जनविश्वास छ । अध्ययन टोलीले यसको ऐतिहासिकता र वास्तविकता पत्ता लगाउन सिमित क्षेत्रभित्र ३ मिटर जमिनमुनिसम्मको सर्वे गरेको छ । सर्वेको आधारमा प्रतिवेदन तयार हुन ४ महिना लाग्ने छ ।

२०२७ सालमा पनि पुरातत्व विभागले यस क्षेत्रमा उत्खनन् गर्दा ४० वटा पञ्चमार्क नामक चाँदीका मुद्रा भेटेको थियो । त्यसबेला भेटिएका ती चाँदीका मुद्राहरु हाल नेपाल सरकारको राष्ट्रिय सङ्ग्रहालयमा राखिएको छ ।

भेडियारीस्थित विराट राजाको दरबारका नाममा ८ विगाहा ३ कठ्ठा १७ धुर जग्गा छ । उत्खननका क्रममा फेला पर्ने पुरानो संरचनालाई असर नपर्ने गरि त्यस्तै किसिमको अर्को संरचना तयार पारेर यस क्षेत्रलाई धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने महानगरको योजना छ ।

विराटराजाको दरबार रहेको जनविश्वास रहिआएको आसपासमा अहिले पनि धरवा, किच्चकबध, भन्सिया, थरथोवा, गुहिया, दिघरी र बहरवा गरि आधा दर्जनभन्दा बढी पोखरी छन् । विराटनगर रानी भन्सारदेखि केही पूर्व भेडियारीस्थित रहेको दरबार उचित संरक्षण, हेरचाह तथा लगानीको पर्खाइमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *