प्रदेश १ को प्रदेश सभा बैठक चैत २३ गते बस्ने

हिमालय टिभी
२०७७ चैत १५ गते १५:०९
प्रदेश १ को प्रदेश सभा बैठक चैत २३ गते बस्ने

१५ चैत २०७७ विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक चैत २३ गते बस्ने भएको छ ।

सूचना टाँसेर पटकपटक स्थगित हुँदै आएको प्रदेश सभा बैठक चैत २३ गते दिउँसो २ बजेका लागि बोलाइएको हो । गत फागुन ९ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस हुनासाथ सूचना टाँसेर पटकपटक सूचना निकालेर स्थगित गरिएको थियो ।

तत्कालीन नेकपाको प्रचण्ड र नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव लामो रस्साकस्सीपछि फागुन ९ गते टेबल भए पनि छलफलमा भने गएको छैन ।

अदालतको फैसलाले एमाले ब्यूँतिएपछि नेपाल पक्ष प्रस्ताव फिर्ता लिन सहमत भएको छ ।

नेकपा एकीकृत रहँदा अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने स्थितिमा पुगेका मुख्यमन्त्री राईको सरकार अब भने सुरक्षित देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५१ र माओवादी केन्द्रका १६ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *