‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

हिमालय टिभी
२०७७ चैत १५ गते ९:२९
‘तोरन ल्ह’ मनाउँदै थकाली समुदाय

१४ चैत २०७७ म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ ।

नेपालका विभिन्न क्षेत्रमा करिब १० हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

तोरन ल्ह मनाउन घर बाहिर र विदेशमा रहेका थकालीहरु आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन् । फागु पूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका उपाध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।

“तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, शेरचनले भन्नुभयो, “आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति दरवाङ क्षेत्रले रातोढुङ्गा र दाना क्षेत्रको आयोजनामा तिप्ल्याङ तारो खेल (आर्चरी) शुरु गरेको छ ।

तारो खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिकग्रन्थहरूमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्तिकालदेखि नै भएको अनुमान गरिन्छ । कुनै समय युद्धको महत्वपूर्ण हतियार, जङ्गली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकूदको एउटा विधाका रूपमा मान्यता पाएको छ ।

आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्दहरु अल्पसङ्ख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचान मानेको थकाली सेवा समिति दरवाङ क्षेत्रका अध्यक्ष विनोद भट्टचनले बताउनुभयो । एउटा समूहमा छ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । पछिल्लो समय अन्य धातुका समेत धनुष बनाउने गरिएको छ ।

एक सयदेखि डेढ सय मिटरको दूरीमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र कोपिएको आधारमा खेलको मूल्याङकन हुन्छ । फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपिएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो ।

मालिका महोत्सव स्थगित
मालिका गाउँपालिकाको केन्द्र दरबाङमा चैत २७ गतेदेखि आयोजना गरिएको प्रथम मालिका महोत्सव स्थगन भएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेकाले नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सव स्थगन गरिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घको मालिका बजार एकाइ समितिले जनाएको छ ।

एकाइ अध्यक्ष लेकबहादुर पुनले आयोजक समिति र सरोकारवालाको शनिबार दरवाङमा बसेको बैठकले अर्को निर्णय नहुँदासम्मका लागि महोत्सव स्थगन गरिएको जानकारी दिनुभयो । चैत २७ देखि वैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिएको थियो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा भारतबाट काम गर्न आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीलाई गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लोपटक मालिका गाउँपालिकाकै एक शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना जोखिम कम भएपछि महोत्सव गर्न नयाँ कार्यतालिकाको अर्को मिति तय गरिने अध्यक्ष पुनले बताउनुभयो । पर्यटन प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीयस्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गर्ने तय भएको थियो । महोत्सवमा पुरुष÷महिला भलिबल, लोकदोहोरी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रदर्शनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारको गायन प्रस्तुति तय भएको थियो ।

दोस्रो लहरको कोरोनाको जोखिम बढेपछि गत बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले भीडभाडमा कडाइ गर्दै भारतबाट आउनेलाई १० दिन अनिवार्य एकान्तबास बस्नुपर्नेलगायतका निर्णय गरेको थियो । तस्वीरः सामाजिक सञ्जाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *