आफ्नै काकाको छोरा अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

हिमालय टिभी
२०७७ चैत १२ गते ६:०४
आफ्नै काकाको छोरा अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

१२ चैत २०७७ लहान । आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उहाँका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

शिवकुमारको गत चैत ८ गते राति हत्या भएको थियो । हत्या भएको अवस्थामा शिवकुमारको शव मिर्चैया नगरपालिका–१ स्थित आँपको बगैँचामा फेला परेको थियो । शिवकुमारको हत्या उहाँकै काकाका छोरा विष्णु यादव इन्द्रदेव यादवले मिलेर गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

“विष्णुले आफ्ना सालो इन्द्रदेव यादवसँग मिलेर शिवकुमारको अपहरण गरी हत्या गरेको खुलेको छ”, प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भन्नुभयो, “हत्यामा संलग्न दुवैलाई आज पक्राउ गरिएको छ ।”

विष्णुले सालो इन्द्रदेवसँग मिलेर शिवकुमारको अपहरण गरी उहाँको परिवारसँग रु ५० लाख फिरौती मागेको र फिरौतीबापतको रकम नदिएपछि गत चैत ८ गते राति हत्या गरी शव कङ्क्रिटले छोपेको अनुसन्धानबाट खुलेको प्रहरी नायब महानिरीक्षक सिंहको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट विष्णुले आफ्नै काकाको छोरा शिवकुमारको फिरौती र अवैध सम्बन्धका कारण हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

विष्णु यसअघि दुई वर्ष जेल बसेका थिए । त्यस क्रममा विष्णुकी पत्नीसँग शिवकुमारको अवैध सम्बन्ध भएको रिसिइबी र शिवकुमारका दाजु दुई साताअघि मात्रै वैदेशिक रोजगारबाट फर्किएकाले माग जति फिरौती पाउने लोभमा अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब महानिरीक्षक सिंहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *