प्रशासनले दियो मास्क नलगाउने जोकोहीलाई संक्रामक रोग ऐनअनुसार कारबाहीको चेतावनी

हिमालय टिभी
२०७७ चैत ११ गते १५:५८
प्रशासनले दियो मास्क नलगाउने जोकोहीलाई संक्रामक रोग ऐनअनुसार कारबाहीको चेतावनी

११ चैत २०७७ बारा । जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा मास्क नलगाउने जोसुकैलाई संक्रामक रोग ऐन बमोजिम कार्वाही गर्ने भएको छ ।

आज बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले सो निर्णय गरेको हो । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढेपछि सीमा नाका नजिक रहेकाले बारामा सतर्कता अपनाउन लागिएको हो ।

बैठकले संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टिन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राखी स्वास्थय केन्द्रहरुबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक तयारी गर्न निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी विज्ञप्तिमा–‘कोभिड–१९ संक्रमण थप फैलन नदिन विद्युतीय माध्यमबाट चेतनामूलक सन्देश प्रशारण गर्ने र स्वास्थ्य परीक्षण गराई संक्रमणको अवस्था पहिचान गर्ने’ उल्लेख गरिएको छ ।

साथै सीमा नाकाबाट आउने यात्रुहरुको आवतजावतलाई व्यवस्थित गरी अनिवार्य रुपमा अभिलेख राख्ने र नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराएर मात्र प्रवेश गर्न दिने कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *