समाज

चितवन र पर्साबाट एकै साथ शुरु भयो गैँडा गणना-२०७७ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १० गते ६:३०
चितवन र पर्साबाट एकै साथ शुरु भयो गैँडा गणना-२०७७ (भिडियो रिपोर्टसहित)

चैत २०७७ काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ को प्रतापपुरबाट राष्ट्रिय गैँडा गणना २०७७ शुरु भएको छ । हात्ती, पशु चिकित्सक, गणकसहितको टोलीले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकैसाथ गैँडा गणना शुरु गरेको हो । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रतापुरबाट गैँडा गणनाको शुभारम्भ गरेपछि चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गैँडा गणनाको औपचारिक उद्घाट गर्नुभयो ।

लहरै उभिएका हात्ती, त्यसमाथि माउते र गणक । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा एक सिंगे गैंडा गन्न जंगल पस्न ठिक्क छन उनीहरु।

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई १९ वटा ब्लकमा छुट्याएर सोमबार गैँडा गणना सुरु गरिएको हो । यी दुई निकुञ्जमा सोमबार तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत १९ गतेदेखि गणना शुरु हुनेछ । दुई निकुञ्जमा गैँडा गणना गर्न कम्तीमा २० दिन लाग्ने अनुमान छ ।

चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच(पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ ।

गणनामा ४० वटा हात्ती र दुई सय जनशक्ति परिचालन गरिएको छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा ६४५ गैँडा रहेकामा चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । यसअघि पछिल्लो पटक सन् २०१५ मा गैंडाको गणना गरिएको थियो।

त्यसअघि पनि सन् १९९४, २०००, २००५ र २०११ मा गैंडाको गणना गरिएको थियो। गणनामा चितवन निकुञ्जमा ६०५ वटा एक सिंगे गैंडा भेटिएका थिए भने देशभरमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए। ६ वर्षमा १ सय ६१ वटा गैडा मरेका छन । गैंडा गणनाले अहिलेको गैंंडाको वास्तविक अवस्था पत्ता लाग्ने र त्यसलाई आधार बनाएर भावी रणनीति तय गर्न सहयोग छ ।

नेपाल सरकारकै खर्चमा गैंडाको गणना हुन लागेको यो पहिलो पटक हो। यसअघिका गणना अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा हुन्थे। गैंडा गणनाका लागि नेपाल सरकारले करिब १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ।

गत वर्ष नै गर्नुपर्ने गणना कोरोना भाइरसको महामारीका कारण स्थगित भएर एक वर्ष पछि धकेलिएको हो। चितवन निकुञ्जमा चोरी सिकारी मौलाएको थियो। पछिल्ला दिनमा यो क्रममा कमी आए पनि प्राकृतिक कारणले गैंडा मर्नेक्रम भने बढेर गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *