समाज

किन चर्चित भयो त्रिवेणीमा रहेको यो ढुंगा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ९ गते २१:००
किन चर्चित भयो त्रिवेणीमा रहेको यो ढुंगा ? (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ धनकुटा । अरुणसहित सप्तकोशीका अन्य नदीमा तमोर मिसिने स्थान त्रिवेणीमा रहेको खुवालुङ अर्थात एक ढुङ्गो अहिले एकाएक चर्चामा छ । खुवालुङलाई किराँती समुदायले आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन् । यही ढुंगा फुटाएर जेटबोट चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाले माहोल गर्माएको छ ।

गत फागुन ८ गते विराटनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ अर्थात ढुंगा क्रेन लगाएर फुटाउने घोषणा गर्नुभयो । यही घोषणाले धेरैको ध्यान खुवालुङमा सोझियो ।

किराँतहरुले यसलाई ढुंगाका रुपमा मात्रै हेरिए र बुझिए राम्रो नहुने चेतावनी दिइसकेका छन् । ‘किरात राई चाम्लिङ भाषामा खु भनेको ठूलो खोला नदी, वा भनेको पानी र लुङ भनेको ढुंगा हुन्छ । तर सप्तकोशीमा तमोर नदी मिसिने स्थान त्रिवेणी रहेको खुवालुङ्गको अर्थ यतिमा मात्र सीमित छैन । यो खुवालुङलाई किराँत समुदायले आस्थाको केन्द्र मान्दै आएको छ ।

किराँत धर्मग्रन्थ ‘मुन्धुम’मा उल्लेख भए अनुसार किराँत समुदायले कुनै काम शुरू वा अन्त्य गर्दा खुवालुङको उच्चारण गर्ने परम्परा छ । मुन्धुम अनुसार किराँतको पुर्खा यही खुवालुङलाई सिमाना मानेर विभिन्न क्षेत्रमा फैलिएको जनविश्वास छ । तर प्रधानमन्त्री ओलीले ढुङ्गो फुटाएर सप्तकोशीमा जेटबोट चलाउने भनेपछि खुवालुङ्गको संरक्षणमा किरातसँग सम्बन्धित संस्था जुर्मुराएका छन् ।

धनकुटा भोजपुर र उदयपुरका संगमस्थल सप्तकोशीमा तमोर अरुण र दूधकोशी नदी मिसिएको स्थान त्रिवेणीमा खुवालुङ छ । करिब २० फिट चौडाइको ढुंगो नदीको बीच भागमा गाडिएर बसेको छ ।

अहिले ३० देखि ५० जना अट्ने मेसिन–बोट खुवालुङ ढुंगाको छेउबाट वारपार गर्छ । अहिले चलिरहेको भन्दा ठूलो बोट ल्याउँदा ढुंगो बाधक बन्ने व्यवसायीको दावी छ । तर सरकार किराँतहरुको आस्थाको धरोहर खुवालुङ्गको अर्थ र इतिहासनै नबुझि भत्काउन लागेकोले यसको संरक्षणमा लागेको अभियानकर्मी बताउछन् ।

त्यसो त त्यस क्षेत्रका स्थानीयलाई खुवालुङ्ग पनि चाहिएको छ र विकास पनि । खुवालुङ जोगाएर पनि जेटबोट चलाउन सकिने प्रशस्त सम्भावना रहेको उनीहरुको बुझाइ छ । त्यसैले त खुवालुङ जोगाएर जेटबोट चलाउन दाँयाबाँयाबाट बिकल्प खोज्नुपर्ने उनीहरुको सुझाब छ ।

आफ्नो आस्थाको धरोहर जोगाउन अहिले त्यस क्षेत्रमा दैनिक जसो विरोधका कार्यक्रम भैरहेका छन् । चौतर्फि बिरोधकै कारण खुवालुङ फुटाउने ‘सप्तकोशी जलमार्ग निर्माण उपभोक्ता समिति’ पनि पछि हटेको छ । विकास आवश्यक छ तर यसले कसैको पनि आस्थाको धरोहरमाथि प्रहार हुनु हुन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *