रुपा गौतम हत्या प्रकरण: सात वर्ष बित्यो, घटना झनै यस्तो रहस्यमय बन्दै
८ चैत २०७७ बागलुङ । २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै रुपा गौतमको हत्या भएको थियो । हत्या भएको सात वर्षसम्म पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।
पर्वतको पाङ माइत भई तीज मानेर काठेखोला गाउँपालिका–६ आफनो घर फर्कने बेलामा ३६ वर्षीय रुपालाई धारिलो हतियार प्रयोग गरी विभत्स ढङ्गले हत्या गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरिसकेको यस प्रकरण अझैंसम्म पनि रहस्यमय बन्दै गएको छ । हत्या भए लगत्तै प्रहरीले अनुसन्धान थाले पनि पीडित पक्षले अझैंसम्म पनि न्याय पाउन सकेका छैनन् ।
जिल्लामा आउने नयाँ प्रहरी प्रमुखहरुले अनुसन्धान टुङ्गोमा पुराउने आश्वासन दिने गरे पनि पूरा भने हुने गरेको छैन ।
भर्खरै मात्र बागलुङ आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख पल्ली मगरले रुपा हत्याकाण्डका बारेमा पनि आफुले सक्दो अनुसन्धान गर्ने बताउनु भएको छ । । ‘अहिले पनि अनुसन्धानको काम भइरहेको छ’, उहाँले भन्नुभयो, ‘मैले उपलब्ध सबै प्रमाणहरु हेरिसकेको छु , थप अनुसन्धान पनि गर्र्दैछु ।’
यता, वर्षौँसम्म पनि दोषी भेटाउन नसकेकामा अधिकारकर्मी र नागरिक समुदायबाट प्रहरीको आलोचना हुने गरेको छ । दुई वर्षअघि तत्कालिन प्रहरी उपरीक्षक दीपक रेग्मीले अनुसन्धान हत्यारा नजिक पुगेको बताउनु भएको थियो । उहाँले ९९ प्रतिशत अनुसन्धान सकिएको र छिट्टै अपराधी सार्वजनिक गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भएको थियो । तर, सार्वजनिक गर्न नपाउँदै उहाँको सरुवा भएको थियो ।
अधिवक्ता एवम् अधिकारकर्मी राम शर्माले अनुसन्धानमा प्रहरी अलमलिएको बतानु भएको छ । ‘प्रहरी अपराधीको नजिक नपुगेको होइन, तर के कारणले हो अहिलेसम्म दोषी सार्वजनिक हुन सकेको छैन, ९९ प्रतिशत अनुसन्धान सकिएको सार्वजनिक रुपमा प्रहरीले घोषणा गरेको थियो १ प्रतिशत के कुरा अड्किएको हो, हामी जान्न चाहान्छौँ ’।
हत्याजस्तो जघन्य अपराधको अनुसन्धानमा प्रहरी चुक्नु दुर्भाग्यपूर्ण भएको अधिवक्ता शर्माको भनाइ छ । ‘अझै पनि प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर पुनः शुरुदेखि अनुसन्धान थाल्नुपर्छ’, उहाँले भन्नुभयो, ‘ सुक्ष्म रुपमा पुनः अनुसन्धान गर्ने हो भने प्रहरीले दोषी भेटाउन सक्छ तर, यस प्रकरणमा प्रहरीनै अल्मलिएको जस्तो छ ’ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले हुन सक्ने कैँयन व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएर छोडेको थियो । पेसेवर अपराधीबाटै गौतमको हत्या भएको हुन सक्ने निचोडमा प्रहरी पुगेको थियो ।
प्रतिक्रिया