होली प्रारम्भसँगै महोत्तरीको यात्रा पूरा

हिमालय टिभी
२०७७ चैत ८ गते ९:५१
होली प्रारम्भसँगै महोत्तरीको यात्रा पूरा

८ चैत २०७७ महोत्तरी । सबैका हातहातमा अबिरको झोली, सबैका अनुहारमा अबिरको रातो चमक । सबै होली गीतमा मस्त हुँदै अघिल्लो यात्रामा निस्कँदै । मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनबाट अघि बढ्दा यात्री रङ, अबिरको खेलसँगै बढ्दैछन् ।

यात्रीले शनिबार कञ्चनवनमा मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी) का प्रतिमालाई रङ, अबिर अर्पण गरेर होली प्रारम्भ गरेपछि अबका यात्रामा होली गीत गाउँदै अघि बढेका हुन् । आठौँ दिन कञ्चनवनमा होली प्रारम्भ गरेर रात्रिबास गरेसँगै महोत्तरीको यात्रा पनि पूरा भएको छ ।

“किनकाके हात कनक पिचकारी : किनका हातमे अबिर झोली ? सीयाजीके हात कनक पिचकारी, रामजीके हात अबिर झोली ! हो…खेलैय होरी…!! रामसीया कञ्चनवनमें ।” शनिबार मध्याह्न होली प्रारम्भ गरिएसँगै सबै यात्री यस्तै होली गीतमा मग्न थिए । कञ्चनवनमा अघि त्रेतायुगमा मिथिला विहारमा निस्केका रामसीताले फागुन शुक्ल सप्तमीका दिन रङ, अबिर खेलेका सम्झनामा परिक्रमा यात्रीले त्यसको सम्झना गर्दै होली पर्व शुरु गरेका हुन् । अबको बाँकी यात्राका लागि सीताराम नाम सङ्कीर्तनसँगै होली गीत गाउँदै यात्री अघि बढेका छन् ।

महोत्तरीको अन्तिम विश्रामस्थल कञ्चनवनको विशेष पक्ष नै होलीको प्रारम्भ हो । चौथो दिन मटिहानी प्रवेशसँगै शुरु भएको महोत्तरी यात्रा आठौँ दिन कञ्चनवनको विश्रामबाट पूरा गरेर यात्री आज धनुषातर्फ प्रस्थान गरेका छन् । यसअघि महोत्तरीकै मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा क्रमशः चौथो, पाँचाँै, छैटौँ र सातौँ दिनको रात्रिबास सम्पन्न भइसकेको छ । महोत्तरीको कञ्चनवन होली प्रारम्भको मिथिला परम्पराले विशेष बनेको मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् ।

मिथिलामा माघ शुक्ल पञ्चमीदेखि नै वसन्त ऋतु शुरु हुने विश्वास गरिन्छ । यसै विश्वासमा माघ शुक्ल पञ्चमीदेखि फागुन पूर्णिमासम्म घरमा विवाह÷व्रतबन्ध र अन्य शुभकार्य हुँदा होस् वा सम्धी, भिनाजु घरमा पाहुना आउँदा होस्, हाँसख्यालमै रङ अबिर लगाइदिने गरिन्छ । यद्यपि होलीपर्वको विधिवत् प्रारम्भचाहिँ माध्यमिकी परिक्रमा कञ्चनवन आएर रामसीतालाई अबिर अर्पण गरेपछि नै मानिने गरिएको भङ्गाहा–९ कञ्चनवनका बासिन्दा ७० वर्षीय राजवीर यादव बताउनुहुन्छ ।

फागुन शुक्ल सप्तमी अर्थात् माध्यमिकी परिक्रमाको आठौँ दिन यात्री कञ्चनवन पुगेपछि न्वाइध्वाइ गरेर मध्याह्नकालमा रामसीताका प्रतिमालाई अबिर अर्पण गर्दै एकापसमा रङ, अबिर दलेर होली (फागु) खेलिन्छ । कञ्चनवनको यो होलीसँगै मिथिलामा पर्वको रौनक शुरु हुने र फागुन पूर्णिमाको भोलिपल्ट समापन हुने परम्परा छ । कञ्चनवनमा होली गीतसँगै रामसीता विवाह र उहाँहरुको वनविहार कथा प्रसङ्ग भावका मङ्गल गीत जताततै गुञ्जिन थाल्दछन् । यसरी गाइने गीतमा माध्यमिकी परिक्रमाका सबै रात्रि विश्रामस्थलका धार्मिक र पौराणिक महत्वसँगै रामसीताको जोडी निस्कँदा बस्तीबस्तीमा छाएको खुशी व्यक्त भएको हुन्छ ।

मिथिला अतिथि सत्कार र तत्वज्ञानका लागि प्रसिद्ध रहेको यहाँका बुद्धिजीवी बताउँछन् । माध्यमिकी परिक्रमाको क्रममा यात्रामा आफन्त, कुटुम्वजन छन् भन्ने थाहा भएपछि आफ्नो घर नजिक पर्ने विश्रामस्थलमा उनीहरुका लागि मिष्ठान्न विशेष परिकार बनाएर पुर्याउने आम प्रचलन छ । यसैअनुसार कञ्चनवनमा पनि यात्रामा रहेका आफन्त भेट्न विभिन्न परिकारसहित शनिबार कञ्चनवन वरिपरिका बासिन्दा पुगेका थिए । कञ्चनवनमा हुने यो भेटघाटमा सबै एकापसमा गला मिलाउँदै रङ, अबिर खेलेर रमाइलो गर्ने आफ्नो ठाउँको विशिष्ट पक्ष भएको भङ्गाहा–९ हरिनमरीका बासिन्दा ९० वर्षीय जितन यादव बताउनुहुन्छ ।

आफ्नो गौरवमय परम्परामा मैथिल गर्व गर्दछन् । “मिथिला ब्रह्मज्ञानी तत्वविद् र कर्मनिष्ठ राजा जनकको कर्मभूमि हो, गार्गी, मैत्रेयीजस्ता विदुषी र अष्टावक्र र याज्ञवल्क्यजस्ता विद्वान ऋषिमुनिले यहाँ ज्ञान आर्जन गरेर विश्वलाई तत्वज्ञान दिएका हाम्रो पौराणिक गाथा छ”, मिथिला परम्परा र संस्कृतिबारे अभिरुचि राख्नुहुने महोत्तरीकै बलवा नगरपालिका–१० का बासिन्दा कामेश्वर झा भन्नुहुन्छ, “सीताजस्ती आदर्श नारी मिथिलाकी छोरी हुन्, मिथिलाका प्रत्येक ठाउँमा मर्यादा पुरुष श्रीराम र सीताका पैताला परेका छन्, यो परिचय हाम्रो विशिष्ट हो ।” कञ्चनवनमा प्रारम्भ हुने होलीपर्वले आपसी सद्भाव, मित्रता र विश्ववन्धुत्वको सन्देशसँगै इष्र्या र अहङ्कार त्याग्न प्रेरणा दिने झाको थप भनाइ छ ।

माध्यमिकी परिक्रमाका सबै रात्रिविश्रामस्थलले विशिष्ट परिचय ओगटेका छन् । यसमध्ये कञ्चनवनमा रामसीताले अबिर खेलेर विहार गरेका रामायणकालीन कथा प्रसङ्गले यहाँको माटो र परिवेश अझ उन्नत रहेको पुष्टि हुने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह बताउनुहुन्छ । “अबिर, रङ प्रफुल्लताका प्रतीक हुन्”, साहले भन्नुभयो, “रामसीता मिथिला विहार गर्ने क्रममा यहीँ आएर प्रफुल्ल हुनुभएछ, हामी धन्य छौँ ।” रामायणकालीन यो गाथाको पहिचान जीवन्त राख्न र कञ्चनवनको परिचय अझ बढी मुखरित गर्न नगर कार्यपालिकाले निरन्तर प्रयत्न गरिरहेको साहको भनाइ छ । कञ्चनवनलाई धार्मिक पर्यटनको मुख्य केन्द्रका रूपमा विकास गर्न प्रादेशिक र सङ्घीय सरकारको समेत साथ चाहिएको साहले बताउनुभयो ।

मिथिलामा माध्यमिकी परिक्रमाको आठौँ दिन कञ्चनवनमा श्रीराम जानकीलाई अबिर अर्पण गरी यात्रीले एकापसमा रङ, अबिर खेलेपछि फागुपर्व शुरु हुने मान्यताअनुसार नै मिथिलामा रङ, अबिर खेल्न सामाजिक स्वीकृति पाएका नाताबीच आपसमा होली (रङ, अबिर) खेल्न पाइने स्थापित मान्यता छ । कञ्चनवनको रात्रिवासपछि यात्रु आज आफ्नो अघिल्लो यात्रामा रङ, अबिर खेल्दै अघि बढेका छन् । कञ्चनवनमा फागुको शुरुआत गरेर रात्रिविश्राम गरेपछि १५ दिने परिक्रमामा महोत्तरीको पाँच दिने यात्रा पूरा भएको छ । आज नवौँ दिन यात्री धनुषाको पर्वता पुग्नेछन् ।

मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी) का प्रतिमा राखिएका डोला (डोली) अघि लगाएर रामसीताका पदचाप पछ्याउँदै गरिने जम्मा १५ दिनको यात्रामा महोत्तरी जिल्लामा पाँच, धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार गरी १५ रात्रिविश्रामस्थल रहँदै आएको परम्परा छ । धनुषाको हनुमानगढीमा पहिलो दिनको रात्रिवास गरेका यात्री नवौँ, १०औँ, ११औँ १२औँ र १५ औँ दिनको रात्रिवास धनुषामा गर्ने परम्परा छ । यिनमा पर्वता, धनुषाधाम, सतोखर, औरही (हर्र्षाहा) र जनकपुरधाम हुन् ।

त्यसैगरी दोस्रो, तेस्रो, १३औँ र १४औँ दिनको रात्रिवास भारतको मधुवनी जिल्लामा गर्ने परम्परा छ । यिनमा कल्याणेश्वर (कलना), गिरिजास्थान (फुलहर), करुणा र विसौल हुन् । नेपालमा १०७ र भारतमा २६ गरी १३३ किलोमिटरको वृत्तमा गरिने यो यात्रा पूरा गरेपछि फागुन पूर्णिमाका दिन जनकपुरको अन्तरगृह परिक्रमा गरेर मिथिला माध्यमिकी यात्रा सम्पन्न गरिन्छ । मिथिलाको महाकूम्भ भनिने यस यात्रामा साधुसन्त, गृहस्थ र मठाधीशसहित हजारौँ सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *