समाज

तराईका फुसको छानो र कच्ची घर आगलागीको उच्च जोखिममा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते १६:४४
तराईका फुसको छानो र कच्ची घर आगलागीको उच्च जोखिममा (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ बाँके । गर्मीको मौसम शुरु भएसँगै तराईका जिल्लामा आगलागी बढ्दै गएको छ । फुसको छानो र कच्ची घर भएका घना बस्ती आगलागीको उच्च जोखिममा छन् ।

फागुन २३ गते दिउँसो बाँकेको नरैनापुर गाउँपालिकाको सुइया गाउँमा आगलागी हुँदा दलित बस्तीका २२ घर नष्ट भए । खाना पकाएपछि आगो राम्रोसँग ननिभाउँदा सल्किएको आगोले एकै छिनमा दलित बस्ती खरानीमा परिणत भयो ।

खरले छाएका फुसका घरहरु भएको बस्तीमा लागेको आगो निभाउन स्थानीय बासिन्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी साढे ३ घन्टा लाग्यो । राहत र खाद्य सामग्री लिएर आएका स्थानीय सरकारसँग पीडितले टिनको छाना भएको घर निर्माण गरिदिन माग गरेका छन् ।

सरकारले आगलागी र डुबानको जोखिममा रहेका बाँकेका गरिब तथा विपन्न परिवारलाई टिनको छाना भएको घर बनाउन गाउँपालिकामार्फत प्रति परिवार ५० हजार रुपैयाँ अनुदान दिँदै आएको छ । बाँकेको नरैनापुरका लागि पनि सरकारले चालु आर्थिक वर्षमा ३ सय ६१ घर परिवारका लागि टिनको छाना लगाउन प्रति परिवार ५० हजारका दरले अनुदान उपलब्ध गराएको थियो ।

नरैनापुरमा फुसको छाना भएका गरिब तथा विपन्न परिवारका ३ हजारभन्दा बढी घर छन् । ती सबै घरहरु आगलागीको उच्च जोखिममा छन् । तर ३ सय ६१ परिवारका लागि मात्रै अनुदान आएको छ । आगलागी पीडितलाई फुसको छानाको घर बनाउँदा फेरि पनि आगलागीको डर छ ।

तर गरिबीका कारण टिन किन्न नसक्दा पुन फुसको छाना भएको घर बनाउन शुरु गरेका छन । स्थानीय जनप्रतिनिधिले संघीय सरकारसँग विशेष प्याकेज ल्याउन आग्रह गरेका छन् ।

सुरक्षित घर नहुँदा त्यसको सबैभन्दा बढी मार महिला तथा बालबालिकाले खेप्दै आएका छन् । घर आगलागी र बाढी तथा डुबानको जाखिममा कम गर्न टिनको छानासहितको घर बनाउन आवश्यक छ । यसका लागि प्रशासनले पनि पहल गरिरहेको छ ।

विपद्‌बाट बच्नको लागि पूर्वतयारी र सावधानी अपनाउनु आवश्यक छ । अनि त्यसै अनुसारको पूर्वाधारहरु पनि बनाउनु अत्यन्त जरुरी छ । यसमा तीनै तहका सरकारको सहकार्य बलियो हुनु पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *