समाज

कार्यविधि नबन्दा लुम्बिनीमा भित्र्याइएका विद्युतीय सवारी ग्यारेजमै सड्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २१ गते १८:३७
कार्यविधि नबन्दा लुम्बिनीमा भित्र्याइएका विद्युतीय सवारी ग्यारेजमै सड्दै (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ रुपन्देही । पर्यटन क्षेत्रको विकास गरेर लुम्बिनीलाई प्रदुषणबाट बचाउन भन्दै भित्राइएका वातावरणमैत्री सवारी साधन लामो समयदेखि यत्तिकै थन्किएका छन् । विद्युतीय सवारी साधन सञ्चालन सम्बन्धी अवधारणा बनि नसक्दा साधनहरु सञ्चालनमै अन्यौलता छाँएको छ । तर लुम्बिनी विकास कोषले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुँदासम्म विद्युत सवारी पनि सञ्चालन हुने दावी गर्दै आएको छ ।

लुम्बिनीको ‘बुद्ध सर्किट’मा सञ्चालन गर्न भनेर चीनबाट विद्युतीय बस मंसिर २ गते र भ्यान पुस १४ गते लुम्बिनी आइपुगेका थिए । ५ वटा गाडीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया नाकाबाट तीर्थयात्रीलाई लुम्बिनीसम्म ल्याउने छ भने १४ वटा भ्यानले लुम्बिनीभित्र रहेका विभिन्न गुम्बामा पर्यटक घुमाउने योजन छ ।

लुम्बिनी विकास कोषले गाडी त मगाएको छ । तर ती गाडी चलाउने सुरसार गरेको छैन । यसअघि लुम्बिनीकै लागि भनेर ल्याइएका गाडी काठमाडौंमा चलाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
अनि पुल्चोकबाट विद्युतीय गाडी चढेर सिंहदरबार पनि पुग्नुभयो । तर उद्घाटनपछि ती गाडी काठमाडौंमा गुडेनन् । अहिले लुम्बिनीमा आएका सवारी साधानको हालत पनि काठमाडौंका बिजुली बसको जस्तै हुने हो कि भन्ने चिन्ता थपिएको छ ।

पर्यटक र तीर्थ यात्रुलाई लुम्बिनीसम्म बोक्ने गरी ल्याइएका विद्युतीय बस र ‘भ्यान’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छैन ।

लुम्बिनी क्षेत्रमा सञ्चालित ठूला उद्योगले लुम्बिनी प्रदुषित हुँदै गएको छ । सवारी साधनबाट हुने प्रदुषण रोक्नका लागि वातावरणमैत्री गाडी भित्र्याइएको हो । वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीति सरकारले अगाडि सारे पनि सञ्चालनमा अझै अन्योल छ ।

लामो समय गाडी थन्किँदा गाडीका पार्टपूर्जा र इञ्जिन बिग्रिने सम्भावना बढ्दै जान्छ । एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत ‘टुरिस्ट भेइकल’ भित्रिएका हुन् ।

विकास कोष आफैँ गाडी सञ्चालन नगरी टेन्डर प्रक्रिया मार्फत सञ्चालन गर्न दिने योजनामा छ । आफैं यातायात सञ्चालन गर्दा थप जनशक्ति आवश्यक पर्ने देखेपछि कोषले टेन्डरमार्फत सञ्चालन गर्ने सोच बनाएको छ ।

अहिले लुम्बिनीभित्र ई–रिक्सा प्रयोग गरेर पर्यटकहरू विभिन्न गुम्बामा पुग्ने गर्छन् । गाडीले एयरपोर्टबाट वृहतर लुम्बिनी अन्तर्गत कपिलवस्तुको तिलौराकोट, पश्चिम नवलपरासीको रामग्राम, बुद्धमावली रूपन्देहीको देवदह क्षेत्रमा पनि तीर्थयात्रीहरू पुर्‍याउने गरी गाडी सञ्चालन गर्ने योजना छ । वातानुकूलित बस अपाङ्गमैत्री आवाजरहित छ । एकपटक फूल चार्ज गरे चारसय किलोमिटरसम्म गुड्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *