समाज

निरन्तर शिक्षाको ज्योति छर्दै नेपालगञ्जको नमूना विद्यालय एमपी स्कूल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १६ गते १५:१३
निरन्तर शिक्षाको ज्योति छर्दै नेपालगञ्जको नमूना विद्यालय एमपी स्कूल (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ नेपालगञ्ज । नेपालगन्जका संस्थागत, सामुदायिक र धार्मिक गरी १ सय ६० वटा विद्यालयमा ४२ हजार अध्ययनरत छन् । त्यसैमध्यको एक हो मंगलप्रसाद माध्यामिक विद्यालय अर्थात एमपी स्कूल । यो स्कूल मंगलप्रसाद शास्त्रीले स्थापना गर्नुभएको थियो । मंगलप्रसाद नेपालगञ्जमा शिक्षाको जग बसाल्ने व्यक्ति हुनुहुन्छ ।

विक्रम सम्बत २०१३ सालमा तत्कालिन राजा महेन्द्र नेपालगञ्जको मंगलप्रसाद माध्यामिक विद्यालय अर्थात एमपी स्कुलको अवलोकनका लागि पुग्नु भएको थियो । निर्माणाधिन भवनको अवलोकन पछि राजा महेन्द्रले मंगलप्रसादलाई सोध्नुभयो( कस्तो सहयोग चाहिन्छ ? राजा महेन्द्रको प्रश्नको जवाफमा मंगलप्रसादले भन्नुभयो– महाराज मलाई केही चाहिँदैन । मेरो यो हात लिनका लागि होइन दिनको लागि हो । तत्कालिन राजा महेन्द्र र मंगलप्रसादबीचको सम्वाद अहिले पनि स्मरण गरिन्छ ।

मंगलप्रसादको जवाफ सुनेर राजा महेन्द्र अचम्ममा पर्नुभयो अनि भ्रमण दलका सदस्यलाई सोध्नु भयो–यी कस्ता मास्टर हुन् । नेपालगन्जका त्यस बेलाका नेता ललितचन्दले मास्टर निक्कै स्वाभिमानी व्यक्ति भएको बताएर राजा महेन्द्रलाई आश्वस्त पार्नु भएको थियो । त्यसपछि राजा महेन्द्रले मंगलप्रसादलाई गोरखा दक्षिणबाहु दिएर सम्मान गर्नुभयो ।

नेपालगन्जमा शिक्षाको जग बसाल्ने कार्यको शुरुवात गर्ने व्यक्तिको नाम लिना साथ नेपालगन्जका बासिन्दाले उच्च सम्मानका साथ सम्झने नाम हो मंगल प्रसाद मास्टर अर्थात मंगलप्रसाद शास्त्री र विद्यालयको नाम हो एमपी स्कुल अर्थात मंगलप्रसाद माध्यामिक विद्यालय ।

भारतको लखनउमा गणित र अंग्रेजीमा कक्षा १० सम्मको अध्ययन गरेर नेपालगन्ज फर्किएका मंगल प्रसाद शास्त्रीले विक्रम सम्बत १९८५ तिर आफ्नै घरमा विद्यालयको शुरुवात गर्नुभएको थियो । विद्यार्थीको संख्या बढ्दै गएपछि मंगलप्रसादले आफ्नै जग्गामा २०१३ सालमा नया विद्यालय भवन बनाउनुभयो । जुन विद्यालय आज पनि एमपी स्कुलको नामले चर्चित छ ।

मंगलप्रसादले करिब ६० बर्षसम्म नेपालगन्जमा पढाउनु भएको थियो । उहाँले स्थापना गरेको एमपी स्कुलमा कक्षा १ देखि १२ सम्म पढाई हुन्छ । करिब २ हजार विद्यार्थी अध्ययनरत छन् । उच्च मावि तहको विज्ञान, व्यवस्थापन, शिक्षा, कानून, होटेल म्यानेजमेन्ट र कम्युटर साइन्स गरी ६ वटा संकायमा पढाइ हुन्छ ।

विद्यालयको हाता भित्र ४ बिघा १४ कठ्ठामा फैलिएको खेल मैदान छ । नेपालगन्जमा हुने अधिकाश खेलहरु एमपी स्कुल कै खेल मैदानमा हुन्छन । एमपी स्कुलका विद्यार्थीले २०१६ साल देखि एसएलसी परीक्षा दिँदै आएका छन् । एमपी स्कुलबाट करिब ७ हजार विद्यार्थीले एसएलसी र उच्च मावि तहको शिक्षा हासिल गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *