सीमा नाका सञ्चालन गर्न माग गर्दै एक सातादेखि धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ११ गते १९:४७
सीमा नाका सञ्चालन गर्न माग गर्दै एक सातादेखि धर्ना (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ रुपन्देही । भारतसँग आवतजावत सहज बनाउन माग गर्दै रुपन्देहीको बेलहिया नाकामा व्यवसायीले दिनहुँ धर्ना दिँदै आएका छन् । कोरोना संक्रमणको जोखिम घट्दै गएको र अन्य क्षेत्र पूर्ववत अवस्थामा आइसक्दा पनि नाका सहज नभएकोमा उनीहरुले आपत्ति जनाएका छन् । नाका तत्काल खुला गर्न माग गर्दै पर्यटन व्यवसायी तथा सरोकारवाला संघ–संस्थाले बेलहिया नाकामा धर्ना दिएका हुन् ।

पर्यटन सम्बद्ध व्यवसायीले कालो ब्यानर र कालोपट्टीसहित रुपन्देहीको बेलहिया नाकामा दिनहुँ शान्तिपूर्ण धर्ना दिँदै आएका छन् । नाकालाई पूर्ववत अवस्थामा ल्याउनपर्ने, मानिस र सवारी साधन सहज रुपमा आवतजावत गर्न पाउनुपर्ने लगायतका माग राख्दै व्यवसायीले धर्ना दिइरहेका छन् ।

नाका नखोलिदा दुवै देशका नागरिकलाई समस्या र दुःख भएको र व्यवसाय समेत खस्केको सम्वद्ध व्यवसायीको गुनासो छ । दुई महिना अघिदेखि सीमा आंशिक रुपमा खुल्ला भए पनि सहज रुपमा आवागमन गर्न दिइएको छैन ।

सरकारको निर्णय व्यवहारमा लागू नभएको व्यवसायीको दुखेसो छ । धर्नामा सीमावर्ती भारतीय क्षेत्रका व्यवसायिक संघ–संस्थाले पनि ऐक्यबद्धता जनाएका छन् ।

होटल, रेष्टुरेण्ट, हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधि सरकारले खुल्ला गरिसकेको छ । तेस्रो मुलुकका पर्यटकको आगमन अहिले निकै कम छ । स्थलमार्ग हुँदै पर्यटक भित्रिने मुख्य नाका सहज नहुँदा पर्यटन व्यवसायमा असर परेको छ ।

व्यवसायीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई यसवारे ज्ञापनपत्र बुझाइसकेका छन् । तर कहींबाट सुनुवाई नभएपछि बाध्य भएर धर्ना दिनुपरेको उनहरुले बताएका छन् । भारतसँग जोडिएका सिमा नाका अविलम्ब पुन सञ्चालन गरी पर्यटक सहज रुपमा नेपाल आउने वातावरण मिलाउन पर्यटन व्यवसायीले माग गरेका छन् ।

कोरोना महामारीबाट होटल तथा पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित भएको छ । पर्यटक नआउँदा लामो समयको लकडाउनपछि सञ्चालनमा आएका होटल पुन बन्द हुने अवस्था आएको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *