शिक्षक श्रेष्ठ हत्या आरोपी विप्लव समूहका जिल्ला इञ्चार्ज कारागार चलान

हिमालय टिभी
२०७७ फागुन ११ गते १३:३१
शिक्षक श्रेष्ठ हत्या आरोपी विप्लव समूहका जिल्ला इञ्चार्ज कारागार चलान

११ फागुन २०७७ मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका विप्लव समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

३२ वर्षीय विक जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् । शिक्षक हत्या प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पनि राखिएको छ ।

शिक्षक श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका विकलाई न्यायाधीश कपिलमणि गौतमको इजलासले हिजो थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले माघ ७ गते विकलाई मोरङको बूढीगंगाबाट हतियारसहित पक्राउ गरेको थियो ।

हतियार भेटिएपछि सरकारी वकिलको कार्यालयले उनीविरुद्ध हातहतियार खरखजाना, अपहरण र कर्तव्य ज्यान मुद्दा चलाएको थियो । हातहतियार खरखजाना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको थियो । दोस्रो मुद्दामा पनि थुनामै राख्ने आदेश भएको हो ।

शिक्षक हत्या प्रकरणमा घटनामा ४२ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो । तीमध्ये ३५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *