मध्यपहाडी लोकमार्ग : चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ३ गते ६:१०
मध्यपहाडी लोकमार्ग : चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे हुने (भिडियो रिपोर्टसहित)

३ फागुन २०७७ पाँचथर । मध्यपहाडी लोकमार्गको शुरुवाती विन्दु पाँचथरको चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे हुने भएको छ । नेपाल–भारत सीमामा पर्ने चिवाभञ्याङदेखि थर्पुसम्मको ५० दशमलव ६४ किलोमिटर सडक कालोपत्रे गर्न लागीएको हो । दुई वर्षभित्रमा काम सक्ने गरी तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का सम्झौता भएको छ ।

मध्यपहाडी लोकमार्गको शुरुवाती विन्दु चिवाभञ्याङदेखि थर्पुसम्मको सडक खण्ड कालोपत्रे गर्ने कामको याङवरक गाँउपालिकाको च्याङ्थापु बजारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले शुभारम्भ गर्नुभयो ।

अब चिवाभञ्याङबाट च्याङ्थापु, फलैचा, ओयाम हुँदै थर्पुसम्मको सडक कालोपत्रे गरिनेछ । यो सडक कालोपत्र भएपछि पाँचथर र ताप्लेजुङका विभिन्न गाउँका बासिन्दालाई सहज हुनेछ । मन्त्री नेम्बाङ विकासले गति पाएको दावी समेत गर्नुभयो ।

एक दशकअघि चिवाभञ्याङसम्म ट्रयाक खुलेको थियो । चिवाभाञ्याङमा भारततर्फबाट गत महिना सडक जोडिएको छ । पाँचथरमा पर्ने लोकमार्गको ७० किलोमीटर सडक मध्ये २० किलोमीटर सडक यस अघिनै कालोपत्रे भइसकेको छ । २०८० सालसम्ममा चिवाभञ्याङदेखि बैतडीको झुलाघाटसम्म १८ सय ७९ किलोमिटर नै कालोपत्रे सक्ने सरकारी योजना अनुरुप काम अघि बढेको छ।

लोकमार्गको ठेक्का पहिलो प्याकेज रोशन शिव शक्ति जेवी, दोश्रो प्याकेज सन्तोषी शिव शक्ति जेवी र तेश्रो प्याकेज शिव शक्ति जेवीले लिएको छ । २०७९ माघ १८ गतेसम्म काम सक्ने गरी सम्झौता भएको छ । उच्च पहाडी भेगमा पर्ने चिवाभञ्ज्याङ्ग आसपासको छ किलोमिटर क्षेत्रमा बाह्रै महिना काम गर्न सकिन्न । त्यहाँ पीच गर्न कठिन देखिन्छ । तर पनि निर्माण कम्पनीले समयमा काम सक्ने सार्वजनिक प्रतिवद्धता गरेको छ ।

पाँचथरको उत्तरी क्षेत्रमा पुगेको मध्यपहाडी नै पहिलो सडक हो । सडक पुगेको एकदशकमा कालोपत्रेको काम शुरु हुने भएपछि स्थानीय बासिन्दा खुसी छन् ।

मध्यपहाडी लोकमार्ग नेपाल पूर्वदेखि पश्चिमसम्मका मध्य पहाडी जिल्ला जोड्ने राजमार्ग हो । यो लोकमार्गमा पर्ने केही सडक कालोपत्रे छ । तर धेरैजसो भाग कालोपत्रे गर्न बाँकी छ । त्यसैले चिवाभञ्याङदेखि थर्पुसम्मको जस्तै अन्त पनि कालोपत्रेको काम शुरु गर्नु आवश्यक छ ।
भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *