सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाइदिन पूर्वलडाकुको माग, मन्त्रीले दिए आश्वासन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २ गते १४:३०
सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाइदिन पूर्वलडाकुको माग, मन्त्रीले दिए आश्वासन (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ बुटवल । पूर्वमाओवादी लडाकुले सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । पूर्वजनमुक्ति सेना नेपालको नाममा बुटवलमा आज राष्ट्रिय भेला गरेर उनीहरुले आफ्नो इतिहास जोगाउँदै वर्तमानमा बाँच्ने आधार तयार पार्न आग्रह गरेका हुन् ।

नेकपाको ओली समूहले गरेको भेलामा मुख्यमन्त्री र दुईजना मन्त्रीसमक्ष उनीहरुले आफ्ना माग पूरा भए पार्टीलाई समर्थन गर्ने पनि बताए । मुख्यमन्त्री र मन्त्रीले प्रचण्डका कारण पूर्व लडाकुको बिचल्ली भएको भन्दै अब आफुले व्यवस्थापन गर्ने आश्वासन दिएका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र दुईजना संघीय मन्त्रीसमेत सहभागी रहेको कार्यक्रममा तत्कालिन माओवादी सेनाका कमाण्डरले आफुहरुलाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नरहेको गुनासो गरे । परिवर्तनका लागि लडेका योद्धाहरु गाँस, बास र कपासका लागि भौँतारिरहेको भन्दै उनीहरुले सरकारले घोषणा गरेको राहत प्याकेज उपलव्ध गराउन आग्रह गरे । नेकपाको ओली समूहले गरेको राष्ट्रिय भेलामा पूर्व कमाण्डरले आफ्ना विभिन्न माग सुनाए । उनीहरुले सहमति कार्यान्वयन नहुँदासम्म कुनै दललाई समर्थन नगर्ने समेत बताए ।

मुलुकको परिवर्तनका लागि लडे पनि आफुहरुलाई अपमानजनक तरिकाले बिदाइ गरिएको पनि उनीहरुको गुनासो थियो । पूर्व लडाकुको गुनासोलाई ओली समूहले भने राजनीतिक फाइदाका लागि उपयोग गर्ने प्रयास गर्‍यो । ओली समूहका नेतासमेत रहेका लुम्बिनीका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो स्वार्थका लागि प्रचण्डले पूर्वलडाकुलाई प्रयोग गरेको आरोप लगाउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले लडाकुलाई फकाउने प्रयास गर्नुभयो । उहाँले सम्मानजनक राहतका लागि सरकारले योजना बनाइसकेको भन्दै अब छिट्टै कार्यान्वयन गर्ने आश्वासन दिनुभयो । रायमाझीले पनि अहिले विकास र समृद्धि नै मुख्य भएको भन्दै प्रचण्डमा विचारमै विचलन आएको आरोप लगाउनुभयो ।

ओली समूहका नेतासमेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफैले गरेको सशस्त्र युद्धको विरोधमा बोल्नुभयो । कलिला विद्यार्थीलाई बुर्जुवा शिक्षाको काम छैन भनी विद्यालयबाट निकालेर युद्धमा हिँडाएको भट्टले स्वीकार गर्नुभयो । यसअघि पनि पटकपटक मन्त्री बनेका भट्टले प्रचण्ड लाल गद्दार भएको भन्दै युद्धमा मारिएका १७ हजारकै जिम्मा लिने बताउनुभयो ।

सत्तारुढ नेकपामा विभाजन आएपछि अहिले माओवादीका पूर्व लडाकुलाई आफुतिर तान्न दुबै पक्षले प्रयास गरिरहेका छन् । ओली समूहमा लागेका पूर्व माओवादी नेताहरु पनि अहिले यसका लागि डटिरहेका छन् । पूर्व लडाकु पनि अहिले दुबैतर्फ बार्गेनिङमा लागेका छन् । यही मौकामा आफ्नो केही उद्दार हुन्छ कि भन्ने उनीहरुको विश्वास देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *