बुटवलमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय अलपत्र (भिडियो रिपोर्टसहित)
![बुटवलमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय अलपत्र (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/02/butwal.jpg)
२८ माघ २०७७ बुटवल । बुटवलमा सरकारी मेडिकल कलेज खोल्ने निर्णय अलपत्र परेको छ । हरेक प्रदेशमा मेडिकल कलेज खोल्ने निर्णय अनुसार बुटवल मेडिकल कलेजको काम अघि बढाउन खोजियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७५ चैत ८ गते आयोजना कार्यालय पनि उद्घाटन भयो । तर अझैसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भएको छैन ।
‘एक प्रदेश, एक मेडिकल कलेज’को सरकारी नीतिअनुसार सरकारी मेडिकल कलेज खोल्न दुई वर्षअघि नै बजेट छुट्ट्याइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मेडिकल कलेज पूर्वाधार विकास आयोजना कार्यालय उद्घाटन गर्नुभयो । तर अहिलेसम्म डीपीआरसमेत बन्न सकेको छैन । कोरोना महामारीका कारण पनि काम प्रभावित भएको आयोजनाको तर्क छ ।
तिलोत्तमा नगरपालिका वडा नम्वर १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको झण्डै दुई सय बिघा जग्गामा मेडिकल कलेज बनाउने योजना छ । कलेजका लागि करिब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कलेजमा १ हजार बेड क्षमताको अस्पताल हुनेछ । सोही क्षेत्रभित्र दुई वटा ठूला भवन बन्नेछन्, जहाँ १ हजार विद्यार्थी पढ्न र ५ सयजनालाई आवासीय सुविधा हुनेछ । एउटा स्कूल, खेल मैदान, स्वीमिङ पुलसहित मेडिकल कलेज अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने तयारी छ । यसै आर्थिक वर्षभित्र डीपीआर सम्पन्न गरेर टेन्डर प्रक्रियामा जाने गरी काम भइरहेको आयोजनाका इञ्जिनियर उमेश सिंह बताउनुहुन्छ ।
आयोजनास्थलभित्र एउटा खेलमैदान पनि परेको छ । त्यसलाई अन्यत्र सार्न आयोजनाले नगरपालिकासँग समन्वय गरिरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन अनुसार आयोजनास्थलमा १३ हजार रूख काट्नुपर्नेछ । त्यसका लागि वन मन्त्रालयबाट स्वीकृति लिने प्रक्रिया सकिएको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया