छात्रको तुलनामा छात्राको पढाई गज्जब (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २८ गते १९:०३
छात्रको तुलनामा छात्राको पढाई गज्जब (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ बाँके । बाँकेको ज्ञानोदय नमूना माध्यामिक विद्यालयमा अध्ययनरत छात्रको तुलनामा छात्राको पढाई राम्रो देखिएको छ । १४ सय ७७ जना विद्यार्थी रहेको ज्ञानोदय माविमा ४२ प्रतिशत अर्थात ६ सय ३४ जना छात्रा छन् । नियमित रुपमा विद्यालय आउने र मेहनत गरेर पढने गरेका कारण पछिल्ला वर्ष छात्रा नै कक्षामा पहिलो हुने गरेका छन् ।

बाँकेको ज्ञानोदय नमूना माध्यामिक विद्यालयको कक्षा ६ देखि १२ सम्म पहिलो दोश्रो हुने मात्र होइन शीर्ष १० मा पर्नेमा अधिकांश छात्रा छन् । अहिले कक्षा १० मा पढ्ने दीपशिखा भण्डारी कक्षा ६ देखि नै निरन्तर पहिलो हुँदै आउनु भएको छ ।

विद्यालयमा छात्र र छात्राका बिचमा कुनै पनि भेदभाव छैन । रुम टु रिड नामक गैरसरकारी संस्थाले पनि छात्रालाई जीवन उपयोगी शिक्षाका अतिरिक्त पोशाक, स्टेशनरी, परीक्षा तयारीका लागि कोचिङ कक्षाको शुल्कमा सहयोग गर्दै आएको छ । विद्यालयमा राम्रो वातावरण पाएकै कारण छात्राले पढाइमा राम्रो गरि रहेका छन् ।

देशका अधिकांश सरकारी विद्यालयमा छात्राले पढाई पूरा नगरी विद्यालय छाड्ने गरेका छन् । तर यो विद्यालयमा पढाई छाड्ने छात्रा निक्कै कम छन् । छात्राले पढाइमा देखाएको रुची र मेहनतबाट शिक्षक र अभिभावक पनि निक्कै उत्साही छन् ।

ज्ञानोदय माविबाट एसईई परीक्षामा ए प्लस ल्याउने ८ जना विद्यार्थीमध्ये ६ जना छात्रा छन् । राम्रो वातावरण र अवसर पाएपछि छोरीले पनि पढाइमा गज्जब गर्न सक्छन् भन्ने उदाहरण ज्ञानोदय माविका छात्राले देखाइदिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *