गर्भपतन : सबैले प्रयोग गर्दैनन् नियोजनका साधन
२३ माघ २०७७ वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका– ५ की ३७ वर्षीया महिलाले प्रदेश अस्पताल सुर्खेतबाट पछिल्ला तीन वर्षयता दुई पटक गर्भपतन गराइन् । दुवैपटक सुरक्षित गर्भपतन सेवा लिएपछि परिवार नियोजनका साधनको नियमित प्रयोग गरिनन् ।
“दुई सन्तान छोरी जन्मिसकेका थिए, परिवारमा छोरा चाहिन्छ भन्ने दवाव आयो, छोराकै आशमा दुईपटक गर्भपतन गराउन बाध्य भएँ”, उनले भनिन्, “परिवार नियोजनका साधनको नियमित प्रयोग नगर्दा नचाहेरै गर्भ रह्यो र छिटोछिटो गर्भपतन गराउनुपर्ने अवस्था सिर्जना भयो ।”
गुर्भाकोट नगरपालिकाकी २७ वर्षीया अर्की महिलाले पहिलो सन्तान छोरी जन्माइन् । दोस्रोपटक गर्भवती भएपछि छोराछोरी के छ भनेर परिवारले जान्न खोज्यो । वीरेन्द्रनगरस्थित एक नर्सिङ होमबाट भिडियो एक्सरे गर्दा उनको गर्भमा रहेको भ्रूण ‘छोरी’ रहेको पाइयो । कानूनमा भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गर्न नपाइने व्यवस्था भए पनि उनले भ्रूण पहिचान गरेर उक्त नर्सिङ होममा सुरक्षित गर्भपतन गराइन् ।
सुरक्षित गर्भपतन सेवा लिएको पाँच महिनामै उनी अहिले पुनःगर्भवती भएकी छन् । “यसपटक जे भए पनि जन्माउँछौँ, एउटा छोरी छ, एकपटक गर्भपतन गराइसक्यौँ”, उनी भन्छिन् । परिवार नियोजनका साधन प्रयोग नगर्दा छिटो गर्भवती भएको र पटकपटक गर्भपतन गराउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीले बताएपछि गुर्भाकोटकी महिलाको परिवार यसपटक गर्भपतन नगराउने सोचमा पुगेको हो ।
सुर्खेतका ती महिला मात्र होइनन्, सुरक्षित गर्भपतन सेवा लिएका महिला सबैले परिवार नियोजनका अस्थायी/स्थायी साधन प्रयोग गरेको पाइँदैन । यहाँ गर्भपतन गराएका झण्डै १५ प्रतिशतले गर्भनिरोधक साधन प्रयोग नगरेको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्क केलाउने हो भने सुर्खेतमा सुरक्षित गर्भपतन गर्नेमध्ये ८६ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गरेका छन् । जिल्ला जनस्वाथ्य सेवा कार्यालयका अनुसार २०७५ साउनदेखि २०७६ असारसम्मका अवधिमा सुरक्षित गर्भपतन सेवा लिएका तीन हजार २०२ मध्ये दुई हजार ७४५ जनाले मात्र परिवार नियोजनका साधन प्रयोग गरेका छन् ।
त्यस्तै २०७६ साउनदेखि २०७७ असारसम्म सो सेवा लिएका दुई हजार ६०३ मध्ये दुई हजार २०६ जनाले मात्र परिवार नियोजनका साधन प्रयोग गरेका छन् । गत साउनदेखि मङ्सिरसम्म सो सेवा लिएका ९४२ मध्ये ८६३ जनाले मात्र परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ । “तथ्याङ्कले गर्भपतन गराउने सबै महिलाले परिवार नियोजनका साधन प्रयोग गर्दैनन् भन्ने देखाउँछ, यसका लागि जनचेतनामूलक क्रियाकलाप एवं मनोविमर्शको जरुरी छ”, कार्यालयका प्रमुख चेतननिधि वाग्ले भन्नुहुन्छ, “हामीले नेपाल परिवार नियोजन सङ्घसँगको सहकार्यमा जिल्लाभर यसबारे सचेतना अभियान सञ्चालन गरिरहेका छौँ, शतप्रतिशत नतिजा आउन सकेको छैन ।”
कार्यालयका पब्लिक हेल्थ नर्स सङ्गीता खड्का गर्भपतन गरिसकेपछि कम्तीमा छ महिनासम्म गर्भनिरोधका साधन प्रयोग गर्नुपर्ने बताउनुहुन्छ । “गर्भ नचाहेरै गर्भपतन गर्नुपर्ने बाध्यता हुन्छ, गर्भपतन गरिसकेपछि आफूलाई अनुकूल हुने परिवार नियोजनका साधन प्रयोग गर्नु उपयुक्त हो”, उहाँ भन्नुहुन्छ, “घरिघरि गर्भपतन गराउँदा पाठेघरमा प्वाल पर्ने, धेरै रगत बग्ने समस्या देखा पर्न सक्छ, गर्भपतन उपचारमा जटिलता हुन गई क्यान्सरसम्म हुन सक्छ, त्यसैले सुरक्षित गर्भपतन सेवा लिएपछि परिवार नियोजनका साधन प्रयोग गर्नु स्वास्थ्यका लागि धेरै हितकर हुन्छ ।” समाजमा अहिले पनि गर्भपतन सेवालाई परिवार नियोजनको विकल्पका रुपमा बुझ्ने गरेकाले यसको प्रयोगमा कमी आएको उहाँको भनाइ छ ।
गर्भपतनपछि लामो अवधिको परिवार नियोजनका साधनका रुपमा नरप्लान्ट, आयुसिडी तथा छोटो अवधिका कण्डम, पिल्स, डिपोलगायत साधन उपयोगी मानिन्छन् । परिवार नियोजनका साधन सबै स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स खड्का भन्नुहुन्छ, “एकै महिलाले चार पटकसम्म गर्भपतन गरेको पाइन्छ तर परिवार नियोजनतर्फ चासो छैन ।” गर्भपतन गराउनै पर्ने बाध्यता आइपरे पनि परिवार नियोजनका साधनको प्रयोगका कारण गर्भपतनको अन्तरका साथै महिलाको स्वास्थ्यमा आउन सक्ने जटिलता रोक्न मद्दत पुर्याउँछ ।
उपचारमा जटिलता
कानूनले भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गर्न बन्देज गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार कसैले गर्भमा रहेको भू्रणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउने कार्यलाई अपराध मानिएको छ । निजी स्वास्थ्य संस्थामा लिङ्ग पहिचान गर्ने र सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन जाने गरेको पाइएको छ । एकातिर भ्रूणको लिङ्ग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढ्दो र अर्कातिर गर्भनिरोधक साधन प्रयोग नगर्दा पटकपटक गर्भपतन गराउनुपर्ने बाध्यताले गर्दा गर्भवतीको स्वास्थ्यमा गम्भीर असर देखिने स्वास्थ्यकर्मी बताउँछन् ।
पटकपटकको गर्भपतनले गर्भवतीको उपचारमा समेत जटिलता हुने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार विसं २०७६ कात्तिकदेखि २०७७ असोज महिनाका अवधिमा सुर्खेतमा सुरक्षित गर्भपतन गराएका १६० जनामा त्यस्तो समस्या देखियो । त्यस्तै विसं २०७५÷०७६ मा २३७ जनामा गर्भपतन उपचारमा जटिलता देखिएको थियो । पब्लिक हेल्थ नर्स खड्का असुरक्षित गर्भपतन, छिटोछिटो गरिने गर्भपतनजस्ता कारणले गर्भवतीहरु शारीरिक रुग्णता र मानसिक पीडा सहन बाध्य भएको बताउनुहुन्छ । परिवार नियोजनका साधन प्रयोग गर्न झञ्झट मान्ने, गर्भपतनलाई नै परिवार नियोजनका विकल्पका रुपमा बुझ्ने र प्रयोग गर्न अनुकूल हुने साधनको सहज उपलब्धता नहुँदा गर्भपतन गराउने सबैले यसको प्रयोग गर्न नसकेको बताइएको छ ।
कानूनमा गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सकिने उल्लेख छ । गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग शिशु जन्मन सक्छ भनी इजाजत प्राप्त चिकित्सकले राय दिएमा, जबर्जस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी) वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेकाको गर्भ, गर्भमै भ्रूण नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कारणले भू्रणमा अशक्तता हुने अवस्था रहेको भनी उपचारमा संलग्न चिकित्सकको रायबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया