वडाध्यक्ष पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

हिमालय टिभी
२०७७ माघ १६ गते १८:२८
वडाध्यक्ष पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

१६ माघ २०७७ बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष तिलक पुनलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरीम आदेश दिएको हो ।

सर्वोच्चले अन्तरीम आदेश जारी गर्न नपर्नुको कारण १५ दिनभित्र महान्यायधिवक्ता वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनेको छ । अदालतले निर्वाचन आयोग र वडाअध्यक्ष पुनबीच छलफलका लागि माघ १९ गतेको पेशी तोकेको छ ।

छलफल र अदालतको अन्तिम निर्णय नआउने बेलासम्म निर्वाचन आयोगको २०७७ पौस ७ गतेको निर्णयअनुसार जारी भएको सूचना कार्यान्वयन नगर्न आदेश दिइएको छ । वडाअध्यक्ष पुनको तर्फबाट अधिबक्ता सुवास आचार्यले अन्तरीम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

वडाअध्यक्ष पुनसँगै सोही वडाका सदस्य तिलबहादुर फगामीलाई पनि पदमुक्त गरिएको सूचना निर्वाचन आयोगले जारी गरेको थियो । पार्टीको आन्तरिक विवादको कारण जनमोर्चाले आफ्नै जनप्रतिनिधि निर्वाचित व्यक्तिलाई पदमुक्त गर्न आयोगलाई पत्र लेखेको थियो । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती जारी गर्दै जनमोर्चा परित्याग गरेका पुन र फगामीलाई आयोगले पदमुक्त गरेको जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय जनमोर्चा केन्द्रीय कमिटीले वडाध्यक्ष र सदस्य दुवैले दल त्याग गरेको सिफारिस निर्वाचन आयोगलाई लिखित रुपमा पेश गरेपछि राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ तथा राजनैतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम अध्यक्ष र सदस्य पद स्वत्त रिक्त भएको जानकारी सूचनामार्फत आएपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

उहाँहरुले पार्टीको निर्देशन नमानेको, मनोमानी तरिकाले काम गरेको, लेभी नतिरेको, जनतासँग नोकरशाही प्रकारको व्यवहार गरेको, पार्टीका सहकर्मीसँग झगडा गरेको र कुटपिट गर्ने क्रियाकलाप गर्दै आएको जनमोर्चाले आरोप लगाएको थियो ।

गतवर्षको कात्तिक १२ गते जनमोर्चाका कार्यकर्ताबीचको झडपमा परी पुन र फगामी घाइते हुनुभएको थियो । झडपमा वडाध्यक्ष पुनसहित अन्य कार्यकर्ता गम्भीर घाइते हुनेगरी कुटपिट भएको भएपनि वडाध्यक्ष पुनसहित उहाँ पक्षीय कार्यकर्तामाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । अध्यक्ष पुनलाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *