बुटवलको देवीनगर–रंगशाला सडकको दुर्गति, एक घर एक पोखरी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १० गते १७:२२
बुटवलको देवीनगर–रंगशाला सडकको दुर्गति, एक घर एक पोखरी (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ बुटवल । पटकपटक उत्कृष्ट हुँदै आएको बुटवल उप–महानगरपालिकाको एउटा भित्री सडक अहिले पोखरी जस्तै बनेको छ । वस्तीको पानी सडकमा आउँदा स्थानीय पनि समस्यामा छन् । सडक निर्माणको काममा ध्यान नदिँदा रंगशाला जाने सडक अहिले दुर्गन्धित बनेको छ ।

तपाईंलाई लाग्न सक्छ यो त भैंसीले आहाल खेल्ने पोखरी वा माछा पोखरी हो । तर तपाईं यस्तो सोच्दै हुनुहुन्छ भने गलत सोच्दै हुनुहुन्छ । यो त बुटवल उपमहानगरपालिकाको सडकको एउटा दृश्य हो । अझैं तपाईलाई लाग्न सक्छ यो दृश्य वर्षायामको होला ।

तर होइन, यो त हिउँदयामकै दृश्य हो । बुटवलको वडा नम्बर ११ देवीनगर चोकदेखि रंगशाला जाने मार्गको हालत यस्तै छ । दृश्य देख्दा लाग्छ, एक घर एक पोखरी । देवीनगरका घरबाट निस्कने फोहोर पानी अहिले यही सडक भएर बग्छ । ढलमा मिसिनुपर्ने पानी सडकमा पोखिएपछि वस्ती वरपर दुर्गन्ध फैलिएको छ ।

यो समस्या अहिलेको मात्र होइन दुई वर्ष भयो । सडक बनाउन बुटवल उपमहानगरपालिका पनि लाग्यो । तर स्थानीयसँग समन्वय गर्न नसक्दा सडक बन्न सकेको छैन । नालीको पानी सडकमा जम्मा भएर दुर्गन्ध फैलिँदा व्यापार व्यवसायमा पनि असर परेको छ ।

स्थानीयले पटकपटक वडा कार्यालय पुगेर सडकको समस्या समाधान गर्न आग्रह गरे । तर सुनुवाइ भएन ।

गत वर्ष सडक कालोपत्रेसँगै नाली निर्माणका लागि प्रदेश सरकारबाट १ करोड २५ लाख रुपैयाँ विनियोजन भएको थियो । तर, काम गर्न नसक्दा रकम फ्रिज भयो । दायाँबायाँ नालीसहित सडक ५१ फिट बनाउने काम थालेपछि स्थानीयले अवरोध गरेका कारण समस्या भएको उपमहानगरपालिकाको दाबी छ । स्थानीयले २३ जनाले उच्च अदालतमा मुद्दा हालेका कारण सडक विस्तारको काम रोकिएको छ ।

एकातिर केही स्थानीयको अर्घेल्याइ यसमा जिम्मेवार देखिएको छ भने अर्कातिर स्थानीयलाई विश्वासमा लिन नसक्ने जनप्रतिनिधिको पनि कमजोरी छ । पटक पटक उत्कृष्ट नगर घोषणा हुँदै आएको बुटवल उपमहानगरपालिकालाई अहिले भने यो सडकले गिज्याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *