रेडक्रसको सहयोगमा विद्यार्थीले पाए शुद्ध पिउने पानी (भिडियोसहित)
७ माघ २०७७ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा रहेको शारदा माध्यामिक विद्यालयमा खानेपानीको समस्या थियो । अहिले रेडक्रस सोसाइटी कैलाली शाखाले कोरोना नियन्त्रण तथा रोकथामका लागि खानेपानी सरसफाई र स्वच्छता कार्यक्रम शुरु गरेपछि विद्यार्थीले शुद्ध पानी पाएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको शारदा माध्यामिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले कोरोना नियन्त्रण तथा रोकथामका लागि खानेपानी सरसफाई र स्वच्छता कार्यक्रममार्फत डिपबोरिङ मार्फत पानी उपलब्ध गराएको छ । यसले विद्यालय नजिकै रहेका घरमा गएर पानीको प्यास मेटाउँदै आएका विद्यार्थीले अहिले विद्यालय हाताभित्रै पानी पाएका छन ।
विद्यालयले यसअघि पनि खानेपानीका लागि पटकपटक प्रयास गरे पनि सफल भएको थिएन । पानीको व्यवस्था नहुँदा विद्यार्थीलाई शौचालय जान पनि समस्या थियो । अहिले रेडक्रसको आर्थिक सहयोगमा खानेपानीको धारा जडान भएपछि समस्या समाधान भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले कैलालीका १५ वटा विद्यालयमा कोभिड–१९ नियन्त्रण तथा प्रतिकार्यका लागि काम गरिरहेको छ । त्यसअन्तर्गत विद्यालयमा खानेपानीसहित हात धुने व्यवस्था पनि गरिएको छ ।
कैलालीमा शारदा माध्यामिक विद्यालय मात्रै यस्तो विद्यालय होइन यहाँका अधिकांश विद्यालयमा शुद्ध खानेपानीको अभाव छ । जिल्लाको सुगम स्थानमै रहेको विद्यालयको अवस्था यस्तो छ भने अझ दुर्गम क्षेत्रका विद्यालयको अवस्था के होला हामी कल्पना गर्न सक्छौ । त्यसैले यस विषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।
प्रतिक्रिया