भारत लगिँदै गरेका तीन किशोरीको उद्धार

२३ पुस, काठमाडौं । ललाई फकाई इलामको पशुपतिनगर हुँदै भारत लगिंदै गरेको अवस्थामा तीनजना किशोरीको उद्धार गरिएको छ ।
इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभाको मकालु गाउँपालिकाका १५र १६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा टोलीले सोधपुछ गरेको थियो ।
उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिनुभयो ।
सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौँमा राखेको अनुसन्धानका क्रममा खुलेको छ । शेर्पाले भारतस्थित दार्जिलिङमा काम पाइएको भन्दै त्यसतर्फ पठाएको खुलेको छ ।
उद्धार गरिएका तीनै किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको छ । पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव बेचबिखन हुने क्रम बढ्दै गएको छ ।
प्रतिक्रिया