शुक्लाफाँटा निकुञ्ज आरक्ष पीडितको व्यवस्थापन अझै हुन सकेन, दुई दशकदेखि कष्ठकर जीवन विताउन बाध्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २० गते १६:३८
शुक्लाफाँटा निकुञ्ज आरक्ष पीडितको व्यवस्थापन अझै हुन सकेन, दुई दशकदेखि कष्ठकर जीवन विताउन बाध्य (भिडियोसहित)

२० पुस, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको किनारामा बस्तै आएका आरक्ष पीडितको व्यवस्थापन भएको छैन । जसले गर्दा आरक्षण पीडितले अहिले पनि जोखिमपूर्ण र कष्टपूर्ण रुपमा जीवनयापन गर्नु परिरहेको छ ।

२०५८ सालमा शुक्लाफाँटा आरक्ष विस्तार गर्ने क्रममा कञ्चनपुरको रौतेली, पिपलाडी लगायत ठाउँबाट २३ सय भन्दा बढी घर परिवार विस्थापित भएका थिए । उनीहरुको अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । विस्थापित मध्ये ६ सय भन्दा बढी परिवार अहिले कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्वर ६ स्थित ढक्का शिविरमा बसिरहेका छन् । जहाँ उनीहरुको जीवन निकै कष्टपुर्ण छ ।

ढक्का शिविरमा बसोबास गर्ने आरक्ष पीडितले राज्य पक्षले नै व्यवस्थापनका लागि चासो नदिएको आरोप लगाएका छन ।

दैनिक ज्यालादारी गरेर पेट पाल्दै आएका यी परिवार अहिले कोरोना महामारीका कारण झनै समस्यमा छन् । भारतमा मजदुरी गरेर हुने आम्दानीले चलेको उनीहरुको जिविका कोरोना संकट पछि झन जटिल बनेको छ ।

ढक्का शिविरमा बस्नेको जीवन त कष्टकर छ नै यसले आरक्षणको सुरक्षामा पनि चुनौति थपेको छ । यो शिविरको पुरै बस्ती निकुञ्जको कोर एरिया भित्रै छ । यसले मान्छे र जंगली जनावरबीचको द्वन्द्व बढ्ने र जैविक विविधतामा विथोलिने खतरा छ ।

आरक्ष पीडितको व्यवस्थापनका लागि स्थानीय स्तरमा केही प्रयास भएका छन् । तर ती सफल हुन सकेका छैनन् । त्यसैले स्थानीय तहले प्रदेश र संघीय सरकारले नै यो समस्या समाधान गर्नु पर्ने बताएका छन् ।

विस्थापित भएको दुइ दशकसम्म पनि हजारौं परिवारको व्यवस्थापन हुन नसक्नु राज्यकै कमजोरी हो । अहिले सिंहदरवारको अधिकार गाउँ गाउँ पुगेको भनिएको छ । तर स्थानीय सरकार भने यसमा लाचार जस्तै देखिन्छ । लामो समयदेखि कष्ट भोगीरहेका यी परिवारको स्थायी बसोवासका लागि संघ र प्रदेश सरकारले तत्कालै कदम चाल्नु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *