पश्चिमी वायुको प्रभावका कारण उपत्यकासहित देशका विभिन्न भागमा वर्षा
![पश्चिमी वायुको प्रभावका कारण उपत्यकासहित देशका विभिन्न भागमा वर्षा](https://www.himalayatv.com/wp-content/uploads/2019/07/barsha.jpg)
२० पुस २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौं उपत्यकासहित मध्य र पश्चिम क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।
पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यका आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपात भएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मोसममा परिवर्तन आएसँगै दार्चुलाको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । वर्षा र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । चिसोका कारण लेकाली क्षेत्रका मानिस र पशु चौपाया कठ्याङ्ग्रिएका छन् ।
दार्चुलाको व्यास, अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भूभागमा हिमपात भएको छ । यस्तै हुम्ला, जुम्ला, मनाङ लगायतका उच्च हिमाली जिल्लामा पनि हिमपात शुरु भएको छ ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस छ दशमलव शून्य पुगेको छ ।
प्रतिक्रिया