दैलोमै लालपूर्जा पाएपछिको खुसी (भिडियोसहित)
२० पुस २०७७ धनगढी । धनगढी उपहमानगरपालिका वडा नम्बर १२ जुगेडाका किसानले लामो समयपछि जग्गा धनी दर्ता प्रमाणपुर्जा पाएका छन् । करिव ३० वर्ष पहिले भएको नाप नक्साङ्कन त्रुटिपूर्ण रहेको भन्दै उनीहरुलाई लालपुर्जा वितरण गरिएको थिएन । तर अहिले जग्गा हाल साविक गरिएपछि ३ सय ४५ जना किसानले लालपुर्जा पाएका हुन् । पुर्जा पाएपछि किसान खुसी छन् ।
धनगढीको जुगेडाका किसानसँग जग्गा थियो । ३० वर्षअघिको नापी त्रुटिपूर्ण भएपछि उनीहरुसँग त्यसको पुर्जा थिएन । त्यसैले उनीहरु जग्गा जमिन भएर पनि सुकुम्बासी जस्तै थिए । जग्गा हकभोग गरे पनि लालपूर्जा पाउने हो कि हैन भन्ने चिन्ता पनि थियो । तर अहिले लालपूर्जा पाएपछि त्यो चिन्ता हराएको छ ।
पहिले नाप नक्साङन भएका जमिनमा प्राविधिक त्रुटी देखिएपछि तत्कालिन गौस्वारा कार्यालयले हाल साविक गर्ने काम शुरु गरेको थियो । २०६४(६५ देखि शुरु भएको हालसाविक केही ठाउँमा पूरा भएको छ र केहिमा बाँकी छ। पूरा भएका ठाउँका बासिन्दालाई घरदैलोमा पुगेर लालपूर्जा वितरण गर्न थालिएको छ ।
नापी कार्यालयले घर दैलोमा नै आएर लालपूर्जा दिएपछि जग्गाधनी खुसी छन् ।
नापी कार्यालय कैलालीले हालसम्म कैलाली जिल्लाको साविकको उदासिपुर गाविसमा नयाँ पुर्जावितरण सकेको छ । अन्य स्थानमा वितरणको काम भईरहेको छ । लालपूर्जा वितरण पछि अब नापी कार्यालयले मालपोत कार्यालयमा श्रेष्ता पठाउने छ । अब चार महिनापछि नयाँ लालपूर्जाका आधारमा जग्गा किनबेच गर्न पाउने नापी कार्यालयको भनाइ छ ।
अहिले पनि केही नागरिक लालपूर्जा पाउन छुटेका छन् । यसरी छुटेकालाई लालपूर्जा वितरण गर्न वडा कार्यालयले सहजीकरण गर्ने भएको छ ।
भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नापी विभागको काम गराइ भने सुस्त छ । जसका कारण लामो समय देखि जग्गा सम्बन्धी थुप्रै विवादको समाधान हुन सकेको छैन् । र धेरै जग्गा धनी अहिले पनि भुमि अधिकार बाट बञ्चित छन् ।
प्रतिक्रिया