नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीद्वारा सभापति देउवासँग भेटवार्ता

१४ पुस २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको छ ।
हिजो र अस्ती प्रधानमन्त्रीसहित नेकपाका नेतासँग छलफलमा व्यस्त रहेको चिनियाँ टोलीले आज कांग्रेस सभापति देउवालाई उहाँकै निवास बुढानिलकण्ठ पुगेर भेटेको हो ।
भेटमा चिनियाँ टोलीले नेपाललाई हरतरहले सहयोग गर्न तयार रहेको बताएको थियो । दुई मुलुकको सम्बन्धबारे छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
कम्युनिस्ट पार्टीको एक सय वर्ष पुगेको उपलक्ष्यमा चीनमा आयोजना हुने सभामा सभापति देउवालाई चिनियाँ राष्ट्रपति सि जिनपिङले चीन भ्रमणको निम्तोसमेत दिएको जनाइएको छ ।
यसअघि चिनियाँ टोलीले हिजो बेलुका पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइलाई भेटेको थियो ।
टोलीले अहिलेसम्म राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, सभामुख अग्नि सापकोटासँग पनि भेट गरिसकेको छ ।
प्रतिक्रिया