‘पोकली झरना’लाई पर्यटकीय गन्तब्यमा विकास गर्नुपर्ने

हिमालय टिभी
२०७७ पुष १२ गते ६:३०
‘पोकली झरना’लाई पर्यटकीय गन्तब्यमा विकास गर्नुपर्ने

१२ पुस २०७७ काठमाडौं । ओखलढुङ्गाको प्रसिद्ध ‘पोकली झरना’लाई आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

पोकली झरना सेवा समाजले निर्माण गरेको पोकली भरनासम्बन्धी ‘बृत्तचित्र’को उद्घाटन कार्यक्रमका वक्ताले सो झरनाको प्रवद्र्धन गरी आन्तरिक तथा विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसाथ पूर्वाधार विकास र प्रचारप्रसार अघि बढाउनुपर्ने बताएका हुन् ।

झरनाको सौन्दर्य र महत्वलाई विश्वस्तरमा चिनाउन तथा पर्यटन गन्तब्यको रुपमा प्रवद्र्धन गर्न तीन तहको सरकारबीच समन्वय र साझेदारीलाई प्रभावकारीरुपमा अघि बढाउनुपर्ने उनीहरुको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तब्यको रुपमा रहेको पोकली झरना र आसपासको क्षेत्रलाई विश्व बजारसम्म प्रवद्र्धन गर्न सबैखाले अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । देशका धेरै सुन्दर पर्यटकीय स्थलमध्ये पोकली झरना पनि उत्कृष्ठ पर्यटकीय गन्तब्य रहेको भन्दै उहाँले ओखलढुङ्गा अनुपम प्राकृतिक सुन्दरताको केन्द्रविन्दु भएकाले देशी विदेशीको रोजाइमा पर्ने दावी गर्नुभयो ।

सचिव कोइरालाले भन्नुभयो, “पोकलीलाई सरकारले महत्वपूर्ण झरनाको रुपमा स्वीकारेको छ । पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न विषेश ध्यान दिएको छ । झरनाको प्रवद्र्धनका निम्ति गुरुयोजना बनाएर ल्याएको खण्डमा आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्छौँ ।”

झरनाको प्रवद्र्धन गरी पर्यटन पूर्वाधार निर्माणमा केही काम अघि बढाइएको छ । सचिव कोइरालाले तत्कालै गर्नुपर्ने पूर्वाधारका लागि पनि बजेटको व्यवस्था गर्न सकिने तर त्यसका लागि रोजगार सिर्जना हुने, पर्यटक पुग्ने सुनिश्चिततासहितको प्राथमिकतायुक्त पूर्वाधार छनोट हुनुपर्नेमा जोड दिनुभयो ।

सचिव कोइरालाले पोकली झरनाजस्ता क्षेत्रमा पर्यटकलाई व्यवस्थापन गर्न होटल, रिसोर्टलगायत पूर्वाधारमा आकर्षक सहुलियतसहितको राम्रो व्यवस्था गर्ने कार्यविधि पनि पारित भएको जानकारी दिँदै पर्यटकीय पूर्वाधारमा लगानी गर्न निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले प्राकृतिक सुन्दरता, जातीय सांस्कृतिक विविधतायुक्त पोकली झरना र आसपासको क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरी प्रचारप्रसारका निम्ति बोर्डले सक्दो सहयोग गर्ने बचन दिनुभयो ।

झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले बृत्तचित्र निर्माण गरिएको समाजका अध्यक्ष मिलन विष्टले बताउनुभयो । करिब ४० मिनेटको बृत्तचित्रमा पोकली झरनाको सौन्दर्यता, प्राकृतिक तथा जैविधि विविधता, स्थानीय, जातजाती, जनजीवन, संस्कृति, रहनसहन आदि विषयवस्तुलाई बृत्तचित्रमा समेटिएको छ ।

सरकारले पोकली झरनालाई १०० गन्तव्यको सूचीमा राखेर प्रवद्र्धन गरिरहेको छ । देशकै दोस्रो अग्लो पकली झरनाको विकासका लागि गतवर्ष सङ्घीय सरकारले रु २५ लाख, प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु १० लाख बजेट विनियोजन गरिएको थियो ।

उक्त रकम पर्यटकीय पूर्वाधारमा खर्चिएको छ । पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गर्नेगरी पोकलीको विस्तुत गुरुयोजना तयार गरिनेछ । ‘फन पार्क’, झरना आसपासमा सिँढी निर्माण तथा त्यस क्षेत्रमा २५ वटा घरबास कार्यक्रम ‘होमस्टे’ बसपार्क निर्माणलगायत ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन भइरहेको समाजका महासचिव शम्भु बरालले जानकारी दिनुभयो ।

रानीवनको काखमा रहेको पोकली झरनाको संरक्षणका लागि झरनाको सिरानमा एक हजार करोड लिटर क्षमताको ‘ड्याम’ निर्माण गर्ने योजना रहेको समाजले जनाएको छ । बर्खामा प्रशस्त पानी भए पनि हिउँदमा झरनाको पानी कम हुदाँ सौन्दर्य घट्न नदिन पानी सञ्चित गर्न लागिएको हो ।

समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइँको सो झरना १३१ मिटर उचाइँको छ । कर्णाली प्रदेशको कालिकोटस्थित १४८ मिटर उचाइँको पचल झरना नेपालको पहिलो उचाइँको र पोकली दोस्रो झरना मानिन्छ । राजधानी काठमाडौँबाट १७४ किलोमिटर दुरीमा रहेको पोकलीसम्म यातायातको पहुँच छ । काठमाडौँबाट सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुदैँ झरनास्थल पुग्न सकिन्छ । पोकली झरना र आसपास क्षेत्रमा रहेको ओखलढु्ङ्गाका सम्भावित पर्यटकीयस्थलको प्रवद्र्धनार्थ कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *