महामारीका बेला सुदूरपश्चिममा हिंसाका घटना भयावह (भिडियोसहित)
२६ मंसिर, २०७७ धनगढी । कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्याहिंसाका घटना बढेका छन् । मानव अधिकारसम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा र हत्याका घटना न्यूनीकरण हुने अधिकारकर्मीको बुझाइ छ ।
गत चैतमा लकडाउन शुरु भएयता कात्तिक मसान्तसम्म सुदूरपश्चिममा सबैभन्दा धेरै ५ सय २५ घरेलु हिंसाका घटना सार्वजनिक भएका छन् । २ सय ७६ जनाले आत्महत्या गरेका छन । १ सय ६० बलात्कारका घटना भएका छन् । ५८ बलात्कार प्रयास र १६ लैगिंक हिंसा भएका छन् । यसले कोरोना महामारीका बेला अन्य समयमा भन्दा हिंसाका घटना बढेको देखाएको छ ।
लकडाउनका बेला आर्थिक, समाजिक, साँस्कृतिक अधिकारको समेत हनन् भएका छन् । कोरोनाले रोजगारीका अवसर गुम्दा खान र बाँच्न पाउने अधिकारको समेत हनन् भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
सरोकारवालाहरुबीच समन्वय नहुँदा पनि मानव अधिकार हननका घटना बढेको छ । मानव अधिकार सम्बन्धी कानूनको कार्यान्वयन भएमा हिंसा हत्याका घटनामा न्यूनीकरण हुन सक्छ ।
मानव अधिकारको सम्मान, संरक्षण र संवर्धन एवं कार्यान्वयनलाई सुनिश्चित गर्न सबैको योगदान हुनुपर्नेमा सुदूरपश्चितम सरकारको जोड छ । संविधानमा उल्लेख भए अनुसार विधिको शासन कायम गर्नसके मानव अधिकारको सम्मान छ ।
कोरोनाका कारण २२ दशमलव ५ प्रतिशत कर्मचारी र कामदारले सुदूरपश्चिममा रोजगारी गुमाएका छन् । खाद्य असुरक्षा १५ प्रतिशतबाट बढेर २३ प्रतिशत पुगेको छ । महामारीकै कारण बालविकासदेखि १२ कक्षासम्मका झण्डै ८ लाख विद्यार्थी पठनपाठनको अधिकारबाट बञ्चित भएका छन् ।
प्रतिक्रिया