सोलुको माप्य दुधकोशी गाउँपालिकामा बन्यो १५ शैय्याको प्राथमिक अस्पताल (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २६ गते २०:३५
सोलुको माप्य दुधकोशी गाउँपालिकामा बन्यो १५ शैय्याको प्राथमिक अस्पताल (भिडियोसहित)

२६ मंसिर, २०७७ सोलुखुम्बू । सरकारले दुरदराजका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने नीति लिएको छ । जसअनुसार सरकारले अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण शुरु गरेको छ । तर सोलुखुम्बुको खास्तापमा भने १५ बेडको प्राथमिक अस्पताल नै सञ्चालनमा आएको छ ।

हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकास्थित खास्तापमा १५ बेडको प्राथमिक अस्पताल सञ्चालनमा छ। संघीय सरकारको सहयोगमा तत्कालिन खास्तापस्थित ईलाका स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर अस्पताल बनाइएको हो । यो अस्पतालबाट बासा, काकु, वाकु, जुभिङ र देउसा गाउँका करिव ३ हजार घरधुरीले स्वास्थ्य सेवा पाउनेछन् । अब यो अस्पतालबाट एमबीबीएस डाक्टरसहितको टोलीले २४ घण्टा नै स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

स्थानीयस्तरमै अस्पताल स्थापना भई प्राथमिक तहको सेवा प्रवाह भएसँगै त्यस क्षेत्रका बासिन्दालाई सामान्य उपचारका लागि सदरमुकाम सल्लेरी धाउनुपर्ने बाध्यता हटेको छ ।

यो अस्पतालबाट गाउँलेलाई भरपर्दो र दिगो रुपमा उपचार सेवा दिने माप्य दुधकोशी गाउँपालिकाको योजना छ । गाउँपालिकाले आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिका लागि सहयोग गर्ने छ।

सरकारले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य लिएको छ । जसअनुसार अस्पताल नभएका ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल स्थापनाका लागि मंसिर १५ गते एकै पटक स्पतालको शिलान्यास गरेको थियो ।

त्यसरी शिलान्यास गरिएका अस्पताल पनि खास्तापमा रहेको यो अस्पतालजस्तै बन्ने छन् । अन्त अस्पताल बनाउँदै गर्दा खास्तापको यो अस्पतालले भने सेवा नै शुरु गर्नु सकारात्मक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *