लुम्बिनी प्रदेशमा स्मार्ट रिफ्रेस सेन्टर बनाइँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १३ गते ६:०१
लुम्बिनी प्रदेशमा स्मार्ट  रिफ्रेस सेन्टर बनाइँदै (भिडियोसहित)

१३ मंसिर, २०७७ बुटवल । लामो दूरीको यात्रा गर्दा शौच तथा विश्राम गर्न रिफ्रेस सेन्टर चाहिन्छ । तर नेपालका राजमार्गमा रिफ्रेस सेन्टर नहुँदा यात्रुले समस्या भोग्दै आएका छन् ।

लुम्बिनी प्रदेश सरकारले अब राजमार्गमा स्मार्ट रिफ्रेस सेन्टर बनाउन शुरु गरेको छ । रुपन्देहीमा आज यसको निर्माण शुरु गरिएको छ ।

लामो यात्रामा रहेका यात्रु तथा सवारी साधनका चालकलाई विश्राम गर्नका लागि लुम्बिनी प्रदेश सरकारले ५ जिल्लामा रिफ्रेस सेन्टर सञ्चालन गर्ने भएको छ । नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दियामा पूर्वपश्चिम राजमार्गमा पर्ने गरी अध्याधुनिक सुविधा सम्पन्न स्मार्ट रिफ्रेस सेन्टर सञ्चालनमा ल्याइनेछ ।

लामो दूरीमा यात्रा गर्दा चालकलाई थकान हुने गर्दा सवारी दुर्घटना बढ्दै गएको र यात्रुले जंगलमा जथाभावी शौच गर्दा फोहोर बढ्दै गएको भन्दै प्रदेश सरकारले रिफ्रेस सेन्टर सञ्चालन गर्ने अवधारणा ल्याएको हो ।

जसअनुसार रुपन्देहीको सैनामैना ९ पिपल डाँडामा स्मार्ट रिफ्रेस सेन्टरको शिलान्याश गरिएको छ । मुख्यमन्त्री शंकर पोख्रेलले सेन्टरको शिलान्याश गर्दै लुम्बिनी प्रदेशबाट सभ्यतातर्फको यात्रा शुरुवात भएको घोषणा गर्नुभयो ।

पहिलो चरणमा रुपन्देहीको सैनामैना र कपिलवस्तुको चन्द्रौटामा ठेक्का प्रक्रिया पूरा भएर स्मार्ट रिफ्रेस सेन्टर निर्माण शुरु भएको छ । बाँकी ३ जिल्लामा ठेक्का प्रक्रियाको काम सुरु हुँदै छ ।

राजमार्गमा हिड्ने यात्रुका लागि शौचालय र चिया नास्ताको व्यवस्था हुनेछ भने चालकलाई लामो यात्रामा हिड्दा थकान हुने भएकाले केही समय आराम गर्नका लागि विश्राम कक्ष निर्माण गरिनेछ । सैनामैनाको पिपलडाँडामा बन्न लागेको रिफ्रेस सेन्टर २ वर्षभित्र सम्पन्न हुने गरी ३ करोड ५५ लाख ७१ हजारमा ठेक्का सम्झौता भएको हो ।

स्मार्ट सेन्टरभित्र स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम , पार्क ,पार्किङ्ग स्थल , सिटिङ्ग एरिया , पाथ वे , रोड एरिया , कार वासिङ्ग , चार्जजिंग स्टेशन , ड्राईभर रुम बन्नेछ । रिफ्रेस सेन्टर नहुँदा यात्रुले जथाभावी दिसापिसाब गर्दा राजमार्ग वरपरका जंगलहरु दुर्घन्धित बनेका थिए । सेन्टर सञ्चालनमा आएपछि कृषि क्षेत्रमा फाइदा पुग्ने र सफा राजमार्ग बन्नेमा निर्णायक भूमिका खेल्ने नगरपालिकाको विश्वास छ ।

प्रदेश सरकारले ल्याएको नयाँ अवधारणले सरसफाईमा थप टेवा पुग्ने र पूर्वपश्चिम यात्रा गर्ने यात्रुलाई थप सहज मिल्नेछ । यसले गर्दा राजमार्ग पनि सफा बन्नेछ । लुम्बिनी प्रदेश सरकारले ल्याएको स्मार्ट रिफ्रेस सेन्टरको अवधारणा अरु प्रदेशले पनि ल्याउन जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *