२५ वर्षअघि शुरु भएकाे आयाेजना अहिले शिलान्यास ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ११ गते २०:३०
२५ वर्षअघि शुरु भएकाे आयाेजना अहिले शिलान्यास ! (भिडियोसहित)

११ मंसिर, २०७७ बुटवल । बुटवलमा खानेपानीका लागि २५ वर्षअघि सुरु गरिएको एउटा आयोजना अहिलेसम्म पुरा हुनु त कता बल्ल शिलान्यास हुँदैछ । २०५२–०५३ सालमा पाल्पाको झुम्सास्थित सिस्ने खोलाको पानी बुटवल ल्याउन आयोजना सुरु भएको थियो ।

यो आयोजना पुरा गर्ने भनेर नेताहरुले धेरै पटक चुनावी मुद्धा पनि बनाए । तर ति सबै भाषणमा मात्रै सीमित भए । २५ वर्षपछि आएर आयोजना अघि बढाउने प्रयास भएको छ ।

काठमाडौंका बासिन्दाले मेलम्चीको खानेपानी पिउने आशमा जसरी वर्षौं बिताएका छन्, ठिक त्यसैगरी बुटवलका बासिन्दाले झुम्सा आयोजनाको पानी पिउने आश गरेका छन् ।

२५ वर्षदेखि बुटवलका बासिन्दाले पाल्पाको सिस्ने खोलाको पानी पिउने आशा गरे पनि त्यो अझै पूरा भएको छैन । र २५ वर्षसम्म पूरा नभएको आयोजनाको बल्ल शिलान्याश गरिएको छ । झुम्सामा बाँध बाधेर पाईप मार्फत प्रशोधन केन्द्र हुँदै बुटवलमा पानी ल्याउने योजना छ ।

यो योजना सम्पन्न गर्न ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान छ । आयोजना समयमै पूरा हुने र त्यसका लागि बजेटको कुनै अभाव हुन नदिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रतिवद्धता छ ।

झुम्सामा बाँध बनाउन गत जेठमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ । आयोजनाको बाँध निर्माणको काम र मुख्य पाईप लाईन विस्तारको काम २०७९ साल बैशाख १ गते सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ । १५ वर्ष पछिको बुटवलको जनसंख्यालाई धान्ने गरी झुम्साबाट पानी ल्याउने तयारी छ । ३ लाख जनालाई पुग्ने गरी ५ करोड ९० लाख लिटर पानी वितरण गर्ने लक्ष्य छ ।

झुम्सा खानेपानी आयोजना बुटवल कै सबैभन्दा पुरानो र अलपत्र आयोजना मध्ये एक हो । बाँध निर्माणका लागि फेरि शिलान्याश गरिएको यो आयोजना पनि समयमा नै पूरा नहुने हो कि भन्ने आशंका अझै छ ।

बुटवलमा दैनिक ३ करोड ४० लाख लिटर पानी आवश्यक भएकोमा २ करोड ८० लाख लिटर मात्र आपूर्ति हुँदै आएको छ । वर्खामा बुटवलका बासिन्दा तिनाउको धमिलो पानी पिउन बाध्य छन् ।बुटवलको बढ्दो जनघनत्व र सुक्दै गएको भूमिगत जलस्रोतका कारण खानेपानीको समस्या भविष्यमा झन् बढ्ने छ ।

त्यसैले समयमा नै यो आयोजना नसक्ने हो भने बुटवलका बासिन्दा काकाकूल बन्न सक्ने अवस्था आउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *