कोरोनाविरुद्धको खोप उत्पादन सफलता नजिकः कहिले र कति आउला नेपालमा ? (भिडियोसहित)

६ मंसिर, २०७७ काठमाडौं । कोरोना भाइरसविरूद्ध बनेका खोपको परीक्षणमा विश्वभरि महत्त्वपूर्ण प्रगति भैरहेको छ। हाल आधा दर्जनजति खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन् । अन्य केही खोप पनि पहिलो र दोस्रो चरणको परीक्षणमा छन् । विश्व स्वास्थ्य संगठनबाट खोपले मान्यता पाउने बित्तिकै नेपाल ल्याउन पहल गरिरहेको सरकारले दावी गरेको छ । तर कहिलेसम्म कति मात्रामा कसरी खोप आउला भन्ने अझै अन्योलमै छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप सफल भएर विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने बित्तिकै नेपालमा भित्र्याउन सरकारले पहल गरिरहेको बताउनुभएको छ । कुनै पनि देशमा बनेका र तेस्रो चरणको क्लिनिकल परीक्षण पार गरेका कोरोनाविरुद्धको खोप सरकारले नेपालमा ल्याउनेछ ।
अहिले कोरोनाविरुद्धको खोपको १२ वटा उत्पादन तेस्रो चरणको परीक्षणमा छन् । तीमध्ये प्रभावकारी मानिएका खोप नेपालमा आउनेछ । तर प्रभावकारी मानिएका कोरोनाविरुद्धको खोप कहिलेसम्म नेपाल आउँछ, त्यो भने अहिले नै भन्न सक्ने अवस्था छैन ।
नेपालमा कोरोनाविरुद्धको खोप ल्याउने तयारी भैरहे पनि भण्डारणको समस्या छ । अहिले कोरोनाविरुद्ध सफल भनिएका अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायो एन टेकलगायतले उत्पादन गरेको खोप नेपालमा भण्डारण गर्न सक्ने अवस्था छैन । ती खोप माइनस ७० डिग्रीसम्मको चिसोमा राख्नुपर्छ । त्यो तापक्रममा राखेर खोपलाई ढुवानी गर्ने उपयुक्त प्रविधि नहुँदा सफल भनिएका खोप नेपाल ल्याउन समस्या हुनेछ ।
१५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोना भाइरसविरूद्ध खोप लगाउने तयारी सरकारको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिका अनुसार कोरोनाविरुद्धको खोप ल्याउन ४८ अर्ब रुपैयाँ खर्च लाग्नेछ । खोप ल्याउन लाग्ने लागतको २० प्रतिशत सरकारले बेहोर्ने र बाँकी रकमका लागि दातृनिकाय र विकास साझेदारलाई आग्रह गर्ने तयारी छ । खोप ल्याउँदा ७२ प्रतिशत जनसंख्यालाई पुग्ने गरी ल्याइनेछ ।
विभिन्न कम्पनीले उत्पादन गरेका खोप ल्याउन विश्व स्वास्थ्य संगठनसँग नेपाल सरकारले छलफल गरिरहेको छ । बनिसकेका खोप नेपालमा ल्याउने तयारीसँगै खोपको क्लिनिकल ट्रायलका लागि पनि बनेका खोपलाई अनुमति दिने तयारी भैरहेको छ ।
सरकार र सम्बन्धित निकायको कोरोनाविरुद्धको खोप ल्याउन तयारी गर्नु सकारात्मक हो । तर यसअघि कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री आयातमा भएको कमजोरी र अनियमितता नदोर्याउन सरकार जिम्मेवार भएर लाग्नु पर्नेछ ।
प्रतिक्रिया