सिरहास्थित छठ घाटबाट एक युवक हतियारसहित पक्राउ
६ मंसिर, २०७७, सिरहा । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् ।
आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका– ५ बाट हतियारसहित एक जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा औरहीका २२ वर्षीय रवीन दास छन् ।
दासलाई ओरहीको वडा नम्बर ५ स्थित पोखरीबाट हतियारसहित पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । दासको साथबाट एक राउण्ड गोली लोड भएको अवस्थामा एउटा कटुवा पेस्तोल बरामद भएको छ ।
यस्तै सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि उनको साथबाट बरामद भएको छ । दासलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
आफ्ना छिमेकी ४२ वर्षीय विनोद दासमाथि आक्रमण गर्ने योजनाअनुसार रवीन पेस्तोल बोकेर छठघाटमा गएको सूचनाअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । छिमेकीसँग उनको पुरानो रिसइबी रहेको र सोही रिसइबी साँध्न रवीनले पेस्तोल लिएर गएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया