पर्यटन प्रवर्द्धनका लागि महाकाली-मेची साइकल यात्रा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ४ गते ७:४८
पर्यटन प्रवर्द्धनका लागि महाकाली-मेची साइकल यात्रा (भिडियोसहित)

४ मंसिर, २०७७ नेपालगञ्ज । कोरोना संक्रमणका कारण थला परेको पर्यटन व्यवसाय साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले एउटा टोली महाकाली–मेची साइकल यात्रामा छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा साइकल प्रेमी पर्यटन व्यवसायीले नेपाल साइकल उत्सव यात्रा गरिरहेका छन् । १५ दिनअघि शुरु भएको यो यात्राका सहभागी ठाउँठाउँका पर्यटकीय क्षेत्रमा पुगिरहेका छन् ।

सूर्य अस्त हुने नेपालको पश्चिमी सीमा महाकालीको दोधारा चाँदनीको झोलुङे पुलबाट कात्तिक १७ गते शुरु भएको साइकल यात्रा देशका प्रमुख पर्यटकीय गन्तब्यको भ्रमण गर्दै २४ औं दिनमा सुर्योदय हुने इलामको श्री अन्तुमा पुगेर टुङिगिने छ ।

त्यसअघि उनीहरुले ठाउँ ठउँका पर्यटकीय स्थलको भ्रमण गर्ने छन् । नेपालगञ्ज आइपुग्दा साइकल यात्रीले मेरो प्लानेट फनपार्कमा पुगेर स्काइ साइक्लिङ गरेका थिए । उनीहरुका यस्ता कार्यले कोरोनाले थला परेको पर्यटन ब्यवसायको प्रवर्द्धनमा सहयोग पुग्ने छ।

साइकल यात्रीहरुको टोली महेन्द्रनगरबाट धनगढी, कर्णाली चिसापानी, बर्दियाको ठाकुरद्वारा, नेपालगन्ज, लुम्बिनी प्रदेशको नयाँ राजधानी भालुबाङ, स्वर्गद्वारी, बुटवल, तानसेन, बागलुङ, पोखरा, नारायणघाट, सौरहा, हेटौंडा, सिन्धुलीगढी, जनकपुर, गाईघाट, धरान, ईटहरी, विराटनगर, दमक, विर्तामोड हुँदै श्री अन्तुमा पुगेर सकिने छ ।

साइकल यात्राको दूरी १ हजार ६ सय २४ किलोमिटर हुनेछ । देशका प्रमुख पर्यटकीय क्षेत्रहरुमा पुगेर स्थानीय पर्यटन व्यवसायी जन प्रतिनिधिसँग अन्तरक्रिया गर्दै उनीहरुले यात्रालाई निरन्तरता दिइरहेका छन् ।

महाकाली मेची साइकल यात्राको टोलीसँग देशका विभिन्न स्थानमा रहेका साइकल क्लबका सदस्यहरुले पनि आआफ्नो क्षेत्रमा संगै साइक्लिङ गर्दै रमाएका छन् । साइक्लिङ स्वास्थ्य, खेलकूद र वातावरणका लागि धेरै प्रभावकारी भएकाले साइक्लिङको प्रवर्द्धन गरिएको हो ।

नेपाल साइकल उत्सव यात्रा २०७७ लाई नेपाल पर्यटन बोर्ड, टान, नाटा र नेपाल पर्वतारोहण संघलगायत विभिन्न संघसंस्थाको सहयोग छ । कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय पर्यटकको चहलपहल नभइरहेका बेला साइकल यात्राले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *