नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माणको काम शुरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २६ गते २०:२३
नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माणको काम शुरु (भिडियोसहित)

२६ कात्तिक, २०७७, बाँके । नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ । लामो समयको अन्योलपछि आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ ।

यस्तै भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको जिम्मा पाएको छ । भारतको सहयोगमा विभिन्न नाकामा एकीकृत जाँच चौकी बनाउने सहमति अनुसार नेपालगञ्जमा बल्ल काम शुरु हुन लागेको हो ।

आइसीपीका लागि नेपाल सरकारले भारतको रुपैडिया नाकासँग जोडिएको साढे ९० बिघा जग्गा अधिग्रहण गरी तारवार गर्नुका साथै सुरक्षा पोष्ट समेत स्थापना गरिसकेको छ ।

आइसीपी निर्माणका लागि नेपाल सरकारले गर्नुपर्ने सम्पूर्ण काम पूरा गरेको पाँच वर्षपछि भारत सरकारले निर्माणको प्रकृया अघि बढाएको हो । भारत सरकारको सहयोगमा २ अर्ब ३५ करोड रुपैयाँ लागतमा आइसीपी निर्माण हुनेछ । निर्माण २ वर्षमा पुरा गर्ने लक्ष्य राखिएको छ ।

एकीकृत भन्सार जाँच चौकी परिसरमा भन्सार कार्यालयका साथै पशु क्वारेन्टाइन, अध्यागमन, बैंक, खाद्य प्रविधि, प्लान्ट क्वारेन्टाइन लगायत कार्यालयका साथै एक हजारभन्दा बढी मालबाहक ट्रक पार्किङ गर्ने याडसमेत निर्माण हुनेछन् ।

एकीकृत भन्सार जाँच चौकी निर्माण भएपछि मालवाहक सवारीसाधन जाँचपासमा सहज हुनुका साथै क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधि लगायतका काम छिटो र व्यवस्थित हुनेछन् । आइसीपी निर्माणमा ढिलाइ हुँदा अहिले सडकको दुबै किनारामा मालबाहक गाडी राखेर भन्सार जाँच पास हुँदै आएको छ ।

जाँच चौकीका लागि सरकारले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा जग्गा अधिग्रहण गरी मुआब्जावापत नौ करोड चार लाख रुपैयाँ वितरण गरिसकेको छ । आइसीपी निर्माणपछि दुई देशको ब्यापार सहज र व्यवस्थित हुने नेपाली अधिकारीको विश्वास छ ।

भारतले नेपालगन्जसंग सीमा जोडिएको रुपैडियामा २०७५ पुस ३० गतेदेखि नै भन्सार जाँच चौकी निर्माण गरिरहेको छ । करिब २ अर्ब लागतमा सिमावर्ती भारतीय क्षेत्रमा अत्याधुनिक सुविधायुक्त जाँच चौकी निर्माण भइरहेको छ । नेपालतर्फको निर्माणमा भने भारतीय पक्षकै कारण ढिलाइ भएको छ । अब परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधि नेपालगन्ज आएर काम शुरु गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *