पूर्वी नाकामा मानिसको चाप हुँदा समस्या (भिडियोसहित)

२५ कात्तिक, २०७७ झापा । तिहार र छठ पर्व नजिकिएसँगै पूर्वी नाका झापाको काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । भारतीय सीमा पानीट्यांकीबाट भारतीय सुरक्षकर्मीले बिना अवरोध यात्रुलाई पठाउन थाल्दा नेपाली प्रशासनलाई समस्या भइरहेको छ ।
झापाको काँकडभिट्टामा नेपाली सेनाको समन्वयमा संचालित होल्डिङ सेन्टरमार्फत जेठ मसान्तदेखि कात्तिक २३ गतेसम्म ३६ हजार ३८ जना नेपाल प्रवेश गरेका छन् । ६३ हजार ७ सय २८ जना भारत गएको तथ्यांक छ ।
भारतीय पक्षले बिना अवरोध पठाइदिने भएकाले चुनौती थपिएको छ। नेपालमा उपचार गराउन आउने भारतीय नागरिकलाई अति आवश्यक सेवाको रुपमा प्रवेश दिइएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने नेपालीलाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट र स्थानीय तहको सिफारिश हुनुपर्ने व्यवस्था छ । पीसीआर परीक्षण नगरी स्वदेश फर्कने नेपाली १४ दिन होम क्वारन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । गृहमन्त्रालयको सिफारिस र पीसीआर नहुने भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिएको प्रहरीले जनाएको छ ।
नेपाली नागरिकलाई अध्ययन र उपचारका लागि भारत प्रवेश गर्न दिइएको छ । तर भारतबाट ठूलो संख्यामा भारतीय नागरिक आउँदा संक्रमणको जोखिम बढेको छ ।
भारतले आफूले नेपालीलाई निर्वाध आवतजावत गर्न दिए पनि नेपाली पक्षले अवरोध गरेको गुनासो गर्ने गरेको छ । तर नेपाली पक्षले भने संक्रमण नियन्त्रणका लागि कडाइ गर्नुपरेको बताएको छ । यद्यपि पछिल्लो पटक ठुलो संख्यामा नागरिक आउन थालेपछि प्रशासनलाई समस्या हुन थालेको छ ।
प्रतिक्रिया