पर्यटन गतिविधि खुकुलो बनाउने र थप गन्तव्य राष्ट्रमा उडान खुलाउने तयारी (भिडियोसहित)

२३ कात्तिक, २०७७ काठमाडौं । सरकारले पर्यटन गतिविधि खुकुलो बनाउने र थप गन्तव्य राष्ट्रमा उडान खुलाउने तयारी गरेको छ ।
उपप्रधानमन्त्री र्इश्वर पोखरेल संयोजकत्वको कोभिड–नाइन्टिन सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले पर्यटन गतिविधि खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।
बैठकले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार सकिएको भन्दै उद्धार उडान बन्द गर्ने निर्णय पनि गरेको छ । कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउने सीसीएमसीको निर्णय छ ।
बैठकले बैतडीको झुलाघाट नाका खुल्ला गर्न पनि प्रस्ताव गरेको छ । योसँगै अब नेपाल प्रवेश गर्ने खुला नाकाको संख्या १४ पुग्नेछ ।
यस्तै, स्थानीय तहमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको परामर्शका लागि वडाबाटै स्वास्थ्यकर्मी परिचालन गर्ने, विदेशी कूटनीतिक नियोगका कर्मचारीका परिवारका सदस्यलाई पनि नेपाल आउन अनुमति दिने, विदेशमा रहेका नेपालीका शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले शैक्षिक गतिविधि खुल्ला गर्नेबारे भने कुनै निर्णय गरेको छैन ।
प्रतिक्रिया