लक्षणसहितका कोरोनाका बिरामी बढ्दो, आइसीयू बेड पाउनै मुश्किल (भिडियोसहित)

२३ कात्तिक, २०७७ बुटवल । पछिल्लो समय लुम्बिनी प्रदेशमा लक्षणसहितका जटिल संक्रमित थपिने क्रम बढेसँगै आईसीयू बेड अभाव हुन थालेको छ । आईसीयू बेड थप्न भने सरकारले ढिलो गरेको छ । जसका कारण बिरामी उपचार नपाएरै मृत्युवरण गर्न बाध्य भएका छन् ।
लुम्बिनी प्रदेशमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आईसीयु बेड अभाव भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा जम्मा १६ वटा आईसीयु बेड छन् ।
आईसीयु मिलाइदिन अस्पताललाई दैनिक दबाव आउने गरेको छ । तर नभएपछि अस्पतालले संक्रमितलाई अन्यत्र रिफर गर्ने गरेको छ । प्रदेश सरकारले आईसीयू र भेन्टिलेटर थप नगरे धेरैको ज्यान जोखिममा पर्ने चिकित्सकको चेतावनी छ ।
प्रदेशमा रूपन्देहीका दुई तथा बाँके र दाङका एकएक गरी ४ वटा अस्पतालमा ३४ बेडको आईसीयू सञ्चालनमा छन् । भदौ १८ गते प्रदेश सरकारले बुटवलको कोरोना अस्पताल, भैरहवाको भीम अस्पताल, दाङको बेलझुण्डी अस्पताल, बर्दियाको गुलरिया अस्पतालमा आइसीयु बेड थप्ने निर्णय गरेको थियो । तर तयारी भने बल्ल शुरु भएको छ । यसका लागि संघीय सरकारले अस्पताललाई ३ करोड १२ लाखका दरले सहयोग समेत गरेको छ ।
अहिलेसम्म लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट १ सय ९४ जनाको मृत्यु भइसकेको छ । संघीय सरकारले संक्रमितसँग शुल्क लिने निर्णय गर्दा प्रदेश सरकारले भने निःशुल्क गर्ने बताएको थियो । तर उपचारमा एकदमै जरुरी मानिएको आईसीयु बेड थप्न भने ढिलाइ भइरहेको छ ।
प्रतिक्रिया