जनता आवास कार्यक्रमः दाङमा विपन्न तथा दलितका लागि २६७ घर निर्माण हुँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १९ गते १४:५३
जनता आवास कार्यक्रमः दाङमा विपन्न तथा दलितका लागि २६७ घर निर्माण हुँदै (भिडियोसहित)

१९ कात्तिक, २०७७, दाङ । दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २ सय ६७ वटा घर निर्माण भइरहेका छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख तथा दलित समुदायका लागि सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनोट भएका २ सय ६७ घर चालु आर्थिक वर्षमा निर्माण सक्ने लक्ष्य छ ।

सरकारले आफ्नो जग्गा भएका तर आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका दलित, विपन्न मुस्लिम, सीमान्तकृत, अल्पसङ्ख्यकलगायत समुदायका लागि जनता आवास कार्यक्रममार्फत आर्थिक सहायता गर्दै आएको छ । यही कार्यक्रमबाट दाङमा २ सय ६७ वटा घर निर्माण भइरहेका छन् । सरकारले लाभग्राही छनोटका लागि मापदण्ड बनाएको छ ।

जनता आवास कार्यक्रमको मापदण्डमा परेकाले तीन लाख ३६ हजार रुपैंया प्राप्त गर्दछन् । लाभग्राहीले ८० हजार रुपैयाँ बराबरको श्रमदान गर्नु पर्दछ । सरकारले संचालन गरेको कार्यक्रमबाट लाभग्राही खुशी छन् ।

कतिपय सेवाग्राहीले भने घर निर्माणका लागि सरकारले दिएको रकम पर्याप्त नहुने गुनासो गरेका छन् । आगामी वर्षदेखि रकम बढाउन, छुटेका विपन्न र दलितलाई समेत समेट्नुपर्ने उनीहरुको सुझाव छ ।

जनता आवास कार्यक्रममार्फत रोल्पामा १ सय १२, प्यूठानमा १ सय १० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् । घर निर्माणका लागि सरकारले चार किस्तामा रकम उपलब्ध गराउँछ ।

सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *