बागलुङको काठेखोला–३ धम्जा चार दिनका लागि सिल

११ कात्तिक, २०७७ बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३ धम्जामा चार दिनका लागि सिल गरिएको छ ।
भारतबाट दशैं मनाउन घर आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँ नै सिल गरिएको हो ।
भारतबाट आएका ती युवा पीसीआर परीक्षणको रिपोर्ट नआउँदै सबैसँग घुलमिल भएकाले पाँचदिनसम्म गाउँ लकडाउन गरिएको काठेखोला गाउँपालिका ३ का वडा अध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो ।
क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा सोमबार भारतबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित युवकलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाइएको छ ।
ती युवाले बजारमै होम क्वारेन्टिन बसेर केही दिनअघि मात्रै पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । तर, स्वाबको पीसीआर रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिइ उनी आएकाले गाउँ नै संक्रमणको जोखिममा परेको निष्कर्षसहित सिल गरिएको वडाध्यक्ष श्रीसको भनाइ छ ।
स्वाब दिएपछि कुनै लक्षण नभएका उनी गाउँमा परिवारका साथ दसैं मनाउनुका साथै साथीसंगीसँग गाउँघरका खेलकुदलगायतका कार्यक्रममा पनि सहभागी थिए ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले धम्जा गाउँमा ५ जना भन्दा बढी भेटघाट, भेला र आवत जावत गर्न नपाउने निर्णय गरेको छ ।
प्रतिक्रिया