ईश्वर पोखरेलबाट रक्षा मन्त्रालय खोसियो, विष्णु पौडेललाई अर्थको जिम्मेवारी (सूचीसहित)

२८ असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सत्ता सम्हालेको साढे २ वर्षमा १२ औं पटक मन्त्रिपरिषद पुनर्गठन गर्दै आज ३ जनालाई मन्त्री नियुक्त गर्नुभएकोछ । यस्तै २ जना मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जनाएको छ ।
प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गर्नुभएको छ ।
नवनियुक्त मन्त्री पौडेल रुपन्देही, कृष्णगोपाल श्रेष्ठ काठमाडौं र लिलानाथ श्रेष्ठ सिरहाका हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री इश्वर पोख्रेललाई रक्षा मन्त्रीबाट हटाउनुभएको छ । उपप्रधानमन्त्री पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको मात्र जिम्मेवारी दिइएको छ ।
रक्षा मन्त्री प्रधानमन्त्री आफैंले राख्नुभएको छ । सेनासँग रक्षामन्त्रीको सम्बन्ध राम्रो नरहेको चर्चा चलिरहेका बेला पोखरेललाई रक्षाबाट हटाइएको छ ।
यस्तै यसअघि महिला, बालबालिका ज्येष्ठ नागरिक मन्त्री रहेका दोलखाका पार्वत गुरुङ्गलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
आज ३ मन्त्री थपिएसँगै मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । र संविधान अनुसार अब मन्त्रिपरिषदमा मन्त्री तथा राज्यमन्त्री थप हुने छैनन् । नवनियुक्त मन्त्रीको सपथ भोलि बिहान ११ बजे राष्ट्रपति भवन शितल निवासमा हुने छ ।
प्रतिक्रिया