लकडाउनले रोकिएको खोप सेवा शुरु (भिडियोसहित)
२४ भदौ, २०७७, नेपालगञ्ज । कोरोना संक्रमणको जोखिमका कारण केही समय रोकिएको खोप सेवा नियमित रुपमा संचालन हुन थालेको छ । बर्दियामा कोरोना संक्रमणको जोखिमको प्रवाह नगरी महिला स्वयंसेविका, स्वास्थ्यकर्मी र आमाहरुले बालबालिकाको खोपलाई निरन्तरता दिइरहेका छन् ।
लकडाउनका कारण गाडी नचल्दा आमाहरुले बालबालिकालाई बोकेर ४–५ किलोमिटरसम्म पैदलै हिँडेर खोप केन्द्रमा पुग्ने र बालबालिकालाई खोप लगाउने गरेका छन् । महिनामा एकपल्ट संचालन हुने खोप केन्द्रमा ४०–५० देखि एक सय जना बालकालिकालाई खोप दिइन्छ ।
सानो साघुँरो भवन र खोप लगाउन आउने आमालाई बस्ने न्युनतम आधारभूत सुविधासम्म नभएका खोप केन्द्रमा खोप लगाउनेको भिडभाड हुन्छ । खोप लगाउन स्वास्थ्य चौकी तथा खोप केन्द्रमा आउने आमाहरुलाई स्वास्थ्यकर्मीहरुले साबुन पानीले मिचीमिची हात धुन, घर बाहिर निस्कँदा, भिडभाडमा जाँदा मास्क लगाउन र सरसफाइमा ध्यान दिन सुझाव दिँदै आएका छन् ।
लकडाउनकै बेला असारको तेस्रो सातादेखि सरकारले बालबालिकालाई ‘रोटारिक्स’नामक नयाँ खोप दिन सुरु गरिएको छ । यो बालबालिकालाई दिइने १२ औं खोप हो ।
बालबालिकालाई झाडा पखालाविरुद्धको ‘रोटारिक्स’ खोप पहिलो पटक ६ हप्तामा र दोस्रो पटक १० हप्तामा गरी दुई पटक दिइन्छ । रोटा भाइरसविरुद्धको खोप शुरु भएपछि बालबालिकामा झाडापखालाको समस्या कम भएको स्वास्थ्यकर्मीको अनुभव छ ।
जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई देशैभर रहेका करिब १६ हजार खोप केन्द्रबाट ‘रोटारिक्स’लगायत बिभिन्न १२ वटा खोप दिने गरिन्छ ।
खोपबाट बार्षिक करिब ६ लाख २० हजारभन्दा धेरै बालबालिकालाई संक्रामक तथा प्राण घातक रोगबाट सुरक्षित हुँदै आएका छन् ।
प्रतिक्रिया