निषेधाज्ञाकाबीच गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दो, रोकथामका लागि के छ सरकारको योजना ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १४ गते १६:०९
निषेधाज्ञाकाबीच गण्डकी प्रदेशमा कोरोना संक्रमण बढ्दो, रोकथामका लागि के छ सरकारको योजना ? (भिडियोसहित)

१४ भदौ, २०७७ पोखरा । लकडाउन हुँदै निषेधाज्ञासम्मका प्रयास भए पनि गण्डकी प्रदेशमा पनि कोरोना संक्रमण दिनहुँ बढिरहेको छ ।

परीक्षणको क्षमता वृद्धि भएसँगै भाइरसका संक्रमित बढ्न थालेपछि प्रदेश सरकार, अस्पतालको क्षमता वृद्धि गर्न लागेको छ । प्रदेश सरकारले सरुवा रोग अस्पताल संचालनमा ल्याइसकेको छ । सबै जिल्लामा आइसीयु र भेन्टिलेटर थपेको छ ।

गण्डकी प्रदेशमा अहिले दुई वटा प्रयोगशाला छन । प्रदेशको राजधानी पोखरामा रहेका प्रयोगशालामा दैनिक १५ सय स्वाब जाँच्न सकिन्छ । त्यही अनुसारको जनशक्ति पनि तयार छ । तर अहिले दैनिक परीक्षणको संख्या बढिरहेको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अहिले समुदाय स्तरमा नमुना संकलनको काम भइरहेको छ । त्यसैले बाग्लुङ अस्पतालमा एउटा पिसिआर मेसिन संचालनमा ल्याउने सामाजिक विकास मन्त्रालयको तयारी छ ।

गण्डकी प्रदेश सरकारको डेडिकेटेड कोरोना अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ४० बेड क्षमताको आइसोलेसन कक्ष छ । जसमध्ये १० वटा आइसियू छन् ।

प्रदेश सरकारले पोखराको शिशुवामा ४५ बेड क्षमताको संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको छ । अन्य निजी अस्पतालमा संक्रमण पुष्टि भएकालाई पनि यही ल्याउने गरिएको छ । भने प्रदेशका अन्य जिल्लामा लक्षण देखिएका गम्भिर संक्रमितलाई क्षेत्रीय अस्पतालले उपचार गरिरहेको छ ।

संक्रमित बढेको कास्कीमा आइसोलेसन कक्ष थप्नका लागि अध्ययन गर्न बनेको समितिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १५, मितेरी अस्पतालमा १० र सरुवा रोग अस्पतालमा ५ बेडको भेन्टिलेटरसहित थप गर्न सकिने सुझाव दिएको छ ।

अहिले प्रदेशमा ३८ वटा आइसोलेसन कक्ष छन । सबै जिल्ला अस्पतालका आइसोलेस कक्षमा एक हजार एक सय १४ वटा बेड छन् । १७५ वटा आइसियु र ५७ वटा भेन्टिलेटर विस्तार गरिएको छ ।

गण्डकी प्रदेश सरकारले ९ जिल्लाका अस्पताललाई हरेक जिल्लामा ३ वटा दरले भेन्टिलेटर र ५ वटाका दरले आइसियू शैया थप्न बजेट निकासा गरिसकेको छ ।

जस अनुसार मनाङ र मुस्ताङ ३–३ वटा आइसियू कक्ष र २–२ वटा भेन्टिलेटरको व्यवस्था गर्न बजेट मिलाएको छ । परिक्षणको दायरा बढाएको सरकारका लागि पत्ता लागेका संक्रमितलाई आइसोलेसनको व्यवस्था चुनौति बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *