भोजपुर प्रवेश गर्ने सबै नाका बन्द, बागलुङमा निषेधाज्ञा लम्बियो

हिमालय टिभी
२०७७ भदौ ९ गते ८:०१
भोजपुर प्रवेश गर्ने सबै नाका बन्द, बागलुङमा निषेधाज्ञा लम्बियो

९ भदौ, २०७७ काठमाडौं । छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढदै गएपछि भोजपुर प्रवेश गर्ने सबै नाका बन्द गरिएको छ ।

संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि बन्द गरिएकोे जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमित भित्रिना सक्ने भएकोले सबै नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो । यस्तै, जिल्लाभर सञ्चालनमा रहेका सबै साना ठूला होटल बन्द गर्ने र जिल्ला प्रवेश गर्ने सबै सवारी साधनहरुलार्ई नाकामा निर्मलिकरण गरिने भएको छ ।

निर्मलीकरणमा लागेको खर्च उद्योग वाणिज्य संघ भोजपुरले व्यवस्था मिलाउने र मालबाहक साधनमा यात्रु ओसार्ने कार्य गरेमा त्यस्तो सवारी साधनलाई यात्रु सहित फिर्ता पठाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उता बागलुङमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा सङ्क्रमण फैलिएको निष्कर्षसहित भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै रुकुमपश्चिममा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ ।

रुकुम पश्चिममा कर्मचारी र प्रहरीसहित आइतबार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *