विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ साउन २८ गते १९:३९
विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

२८ साउन, २०७७, विराटनगर । विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका विराटनगर–५ का ५७ वर्षीय पुरूषको बुधबार साँझ मृत्यु भएको अस्पतालका डा. दिपक सिग्देलले जानकारी दिनुभयो।

दम र सुगरका बिरामी उनमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या बढेपछि सोमबार अस्पताल भर्ना भएका उनलाई अक्सिजन दिएर राखिएकोमा मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारयण यादवले जानकारी दिनुभयो ।

मृतक नेपाल विद्युत प्राधिकरणका कर्मचारी भएको खुलेको छ । अस्पतालमा भर्ना हुँदै अक्सिजनको मात्रा ८४ प्रतिशत मात्र रहेकोमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

योसँगै विराटनगरमा कोरोना कारणले मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि विराटनगर५ का ७७ वर्षका एक जना वृद्धाको कोशी अस्पतालमा मृत्यु भएको थियो । यस्तै विराटनगर–९ का २ जना र १० का १ जनाको पनि कोरोनाबाटै मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *